काठमाडौं ।
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ठूलो ताल बनेको पाइएको छ। उक्त ताल करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जनाइएको छ।
खोलाको बहाव अवरुद्ध भएर पानी जम्मा हुँदै गएकाले कुनै पनि बेला अवरोध फुटेर पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै सम्बन्धित निकायले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, संरचना तथा जोखिममा रहेका स्थानका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई उच्च सावधानीका साथ तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएर बनेको तालको अवस्था निरन्तर निगरानीमा राख्नुपर्ने र पानीको बहावमा अचानक परिवर्तन आएमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै सतर्कता अपनाउन सम्बन्धित निकायले अपिल गरेको छ।













प्रतिक्रिया