चितवन ।
भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये चितवन क्षेत्रमा हालसम्म १ सय ८ वटा शव फेला परेका छन्। फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि चितवन प्रशासनले विशेष व्यवस्था थालेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) पौडेलका अनुसार शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने तथा बडी ब्यागमा राख्ने काम भइरहेको छ। त्यसपछि शवलाई माइनस डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने पहिचान केन्द्रको विशेष कुलिङ हलमा सुरक्षित राखिनेछ।
आफन्त तथा परिवारका सदस्यले पहिचान केन्द्रमा राखिएका शवको विवरण नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिको खोजीका लागि भने सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्ने एसपी पौडेलले बताए। शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा शव गृहबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ।
पीडित परिवारलाई चितवनमा बस्न समस्या नहोस् भनेर निःशुल्क होटल तथा चौबीसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। होटल व्यवसायी संघ चितवन र सौराहाका व्यवसायीको समन्वयमा पीडित परिवारका लागि निःशुल्क आवासको व्यवस्था गरिएको हो।
शव सनाखतपछि घरसम्म लैजानका लागि करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको एसपी पौडेलले बताए। कुनै समस्या परेमा प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी सहयोग लिन सकिने उनले जानकारी दिए।
यसैबीच, फेला परेका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालमा शव व्यवस्थापनमा समस्या भएको छ। अस्पतालको शवगृहमा राख्ने क्षमता सकिएपछि केही शवलाई त्रिपाल टाँगेर बाहिर राख्नुपरेको छ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म अस्पतालमा ६४ वटा शव ल्याइएको छ। अस्पतालको शवगृहमा एकपटकमा १२ वटा शव मात्र राख्न सकिने क्षमता छ।
‘हाम्रोमा ६ वटा फ्रिजर छन्। एउटामा दुई–दुई जना राख्दा १२ जना राख्न मिल्छ,’ उनले भने, ‘पहिल्यैदेखि बेवारिसे शव पनि छन्। यस्तो ठूलो मानवीय क्षतिमा हाम्रो विद्यमान क्षमताले धान्न सक्ने अवस्था छैन।’
बाढीमा बेपत्ता भएकाको खोजी तथा शव व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन प्रशासन, प्रहरी, अस्पताल तथा स्थानीय तहबीच समन्वय गरी थप व्यवस्थापनको काम अघि बढाइएको छ।













प्रतिक्रिया