काठमाडौं ।
नेपालमा बुधबार आएको भीषण बाढीबाट भएको क्षतिलाई लिएर भारतको विदेश मन्त्रालयमा उच्चस्तरीय समीक्षा बैठक बसेको छ। बैठकको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका छन्।
बैठकपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालको बाढीको अवस्थाबारे विदेश सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाडौं र बेइजिङस्थित भारतीय राजदूतहरूसँग समीक्षा बैठक सम्पन्न भएको जानकारी दिएका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण भारतीय नागरिकको अवस्था पत्ता लगाउन भारतले आपतकालीन प्रयास तीव्र पारेको छ।
भारतीय विदेश मन्त्रालयले यसका लागि विभिन्न मन्त्रालय, सम्बन्धित राज्य सरकार, टुर अपरेटर तथा आयोजनाका अधिकारीहरूसँग समन्वय गरिरहेको जयशंकरले बताएका छन्।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन भारतले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको उनले उल्लेख गरेका छन्।
रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीपछि विदेशी तथा नेपाली नागरिकको खोज, उद्धार र अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको छ।













प्रतिक्रिया