भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, उच्च सतर्कता भने कायमै


काठमाडौं ।

हिजो आएको विनाशकारी बाढीपछि भोटेकोसी र त्रिशूली नदीको बहाव अहिले सतर्कता तहभन्दा तल झरेको छ। यद्यपि, बाढीको जोखिम पूर्ण रूपमा नटरेकाले यी नदी आसपासका क्षेत्रमा अझै उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव पनि हाल सतर्कता तहभन्दा तल रहेको छ।

त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहावसमेत सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। भोटेकोसीमा आएको बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा नदीको जलस्तर घटे पनि तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पछिल्लो अवस्थालाई निरन्तर निगरानीमा राखिएको र मौसम तथा नदीको बहावमा हुने परिवर्तनअनुसार थप सूचना जारी गरिने महाशाखाले जनाएको छ।

Skip This