काठमाडौं ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय टोली फिल्डमा पुगेको छ।
उद्धार समन्वय तथा विद्युत् सेवा पुनर्स्थापनालाई प्रभावकारी बनाउन टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।
प्राधिकरणले वैकल्पिक लाइनमार्फत नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्यामा विद्युत् सेवा सुचारु गरिसकेको जनाएको छ। अन्य प्रभावित क्षेत्रमा ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने तयारी भइरहेको छ।
यसका लागि चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने काम तीव्र पारिएको छ। साथै, रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको छ।














प्रतिक्रिया