भोटेकोशी बाढीमा ४ जलमापन केन्द्र ध्वस्त, ६ लाख ७९ हजार पूर्वसूचना एसएमएस


काठमाडौं ।

तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबाट चार वटा जलमापन केन्द्र बगेका छन्।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र पुलसहित बाढीले बगाएको हो।

भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएपछि केही समयमै तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको थियो। महाशाखाले बिहान ९ः१५ बजेदेखि जोखिमयुक्त क्षेत्रका नागरिकलाई पूर्वसूचना दिँदै नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाएको जनाएको छ।

बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी, ११ः५० बजे मलेखु, दिउँसो १ बजे मुग्लिन हुँदै ३ः२० बजे नारायणीको देवघाट क्षेत्रमा पुगेको थियो। देवघाटमा जलसतह ६.५७ मिटर पुगेपछि घट्न थालेको थियो।

प्रारम्भिक प्राविधिक आँकलनअनुसार बाढीको अवधिभर देवघाटबाट करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको छ। महाशाखाले रसुवागढीदेखि नेपाल–भारत सीमासम्मका नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।