आज विभिन्न प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, सुदूरपश्चिम तथा मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग, बागमती र गण्डकीका हिमाली भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा बदली रही विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Skip This