दोलखा।
बुधवार बिहान रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण दोलखाका १८ जना सम्पर्क विहीन रहेको उनीहरुको आफन्तले बताएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पोखरेलले भने आधिकारिक रुपमा दोलखाका मानिस सम्पर्क विहीन बनेको जानकारी प्राप्त नभएको बताए ।
जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई कोही सम्पर्क विहीन भएको जानकारी आए प्रशासनमा खबर गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
रसुवामा हाईड्रोपावर, बैङ्क, सरकारी कार्यालय लगायत बिभिन्न क्षेत्रमा कार्यरत तथा गोसाईकुण्ड भ्रमणमा गएका दोलखाको बिभिन्न पालिकाका १८ जना सम्पर्कमा नआएको स्रोतले जनाएको छ । दोलखाका दुई जना भने सम्पर्कमा आएको स्रोतको भनाई छ ।
प्राप्त जानकारी अनुसार दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ३ का कृष्ण श्रेष्ठ, मेलुङ गाउँपालिकाका सञ्जीव भुजेल, रामशरण रसाइली र मैया दहाल, भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का सुर्दशन चौलागाई र सुविन्द्र नेपाली, बैतेश्वर गाउँपालिका वडा नम्बर– ३ का जगत पाख्रिन, जिरी नगरपालिका वडा नम्बर– ९ का दान बहादुर तमाङ, भीम बहादुर घिसिङ, पेम्बा घिसिङ, गौरीशङ्कर गाउँपालिका वडा नम्बर– २ जुँगुका गोपी नेपाली, सागर नेपाली, कमल खड्का, उत्तर नेपाली र केदार कार्की तथा तामाकोशी गाउँपालिका वडा नम्बर– ६ का दीपेन्द्र बजगाईँ र सुवास फुयाँल बुधवार साँझसम्म पनि सम्पर्कमा आएका छैनन् ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर– १ जुँगुका जनक विरल र पुष्कर विरल भने सम्पर्कमा आएको स्थानीयले बताए ।














प्रतिक्रिया