रसुवा बाढी अपडेट : १४ कर्मचारी अझै सम्पर्कविहीन, सेनाका हेलिकोप्टरबाट १२ जनाको उद्धार


काठमाडौं ।

रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनले निरन्तर प्रयास गरिरहेका छन्।

रसुवागढी भन्सार कार्यालयका अनुसार कार्यालयमा स्थायी दरबन्दीमा कार्यरत ३६ जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन्। बाँकी ११ जना स्थायी कर्मचारी भने अझै सम्पर्कमा आउन सकेका छैनन्।

त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कविहीन छन्। यससँगै स्थायी ११ र करार तथा ज्यालादारी तीन गरी कुल १४ जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको कार्यालयले जनाएको छ।

सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ। बाढीले रसुवागढी भन्सार क्षेत्र तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।

Skip This