काठमाडौं ।
रसुवामा आएको बाढीपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राख्दै घाइतेको तत्काल उपचार तथा आवश्यक परे माथिल्लो तहका अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर तथा हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ। रसुवा र आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार तथा ट्रायजको व्यवस्था गरी गम्भीर घाइतेलाई हब अस्पतालमा रेफर गर्ने तयारी गरिएको छ।
वीर अस्पताल, ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत काठमाडौंका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्वास्थ्य संस्थाबीच समन्वय गरी स्थानीयस्तरमै उपचार सम्भव हुने बिरामीको उपचार गर्ने र गम्भीर अवस्थाका बिरामीलाई तत्काल माथिल्लो तहको अस्पतालमा पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित तथा गम्भीर घाइतेको यकिन विवरण भने संकलन र अद्यावधिक भइरहेको प्रवक्ता अधिकारीले बताएका छन्। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ।














प्रतिक्रिया