काठमाडौं ।
रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा विद्युत् उत्पादन प्रणाली प्रभावित भएको छ। प्रारम्भिक विवरणअनुसार ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट विद्युत् उत्पादन तथा राष्ट्रिय प्रणालीमा आपूर्ति प्रभावित भएको हो।
बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ। यसअघि नेपाल विद्युत् प्राधिकरणले रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ लगायतका आयोजना तथा सबस्टेसन र वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी दिएको थियो। विद्युत् प्रणालीमा एकैपटक ठूलो परिमाणको उत्पादन घटेपछि राष्ट्रिय विद्युत् प्रणालीमा समेत यसको प्रभाव परेको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरिरहेको छ। यसैबीच बाढीबाट प्रभावित आयोजना तथा विद्युत् संरचनाको विस्तृत विवरण संकलन भइरहेको छ। कुन–कुन आयोजना र संरचनामा कति क्षति पुगेको हो भन्ने विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने बताइएको छ। बाढीको जोखिम अझै कायम रहेकाले विद्युत् आयोजना तथा नदी आसपासका क्षेत्रमा कार्यरत कर्मचारी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।














प्रतिक्रिया