स्याङ्जाको गल्याङमा जीप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते


काठमाडौँ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा सोमबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा मिसन अस्पताल पठाइएको छ।
दुर्घटनामा गल्याङ नगरपालिका–८ की अन्दाजी २५ वर्षीया निशा पचभैयाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै गल्याङ नगरपालिका–९ का अन्दाजी ६० वर्षीय यमबहादुर विकको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका १५ जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ। जीप चालक गल्याङ–९ का २९ वर्षीय दीपक विकको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ।

त्यस्तै, गल्याङ–८ की १७ वर्षीया स्नेहा परियार, गल्याङ–९ तीनदोबाटोकी १५ वर्षीया सुप्रिया थापा, गल्याङ–९ साङ्लियाका १२ वर्षीय समिर विक, तीनदोबाटोकी २१ वर्षीया असिसा पचभैया, २५ वर्षीया अरुणा गाहा, गल्याङ–९ का ६२ वर्षीय मेघनाथ खनाल, २२ वर्षीया गंगा विश्वकर्मा र २५ वर्षीया पार्वती विक घाइते भएका छन्। उनीहरूमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन्।

त्यसैगरी गल्याङ–९ चितडाँडाकी ५६ वर्षीया बोमा खनाल, साङ्लियाकी १० वर्षीया सगुन विक, ६२ वर्षीय टोलबहादुर विक, गल्याङ–११ की ५५ वर्षीया राधामाया राना, ५१ वर्षीया दुर्गा विक र ३२ वर्षीया यमकला खनालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते गल्याङ–९ साङ्लियाकी २७ वर्षीया बसन्ती विश्वकर्माको ढाडमा र ४८ वर्षीया देवी विकको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैलाई साँझ ६:५५ बजे थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा रिफर गरिएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।