काठमाडौँ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसले गत भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि भएको मत विभाजनमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको छ। चार जना सांसदले भने मत दिन्न भन्ने विकल्प रोजेका छन्।
कोशी प्रदेशसभा ९२ सदस्यीय रहेकोमा विश्वासको मतका लागि आवश्यक ४७ मतभन्दा मुख्यमन्त्री कार्कीले प्राप्त गरेको मत बढी हो। आजको मतदानमा ८३ जना सांसद सहभागी भएका थिए। जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन्।
मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसदले समर्थन गरेका हुन्।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच साउन ९ गते भएको तीनबुँदे सहमतिपछि कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो। सोही समीकरणका आधारमा मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।











प्रतिक्रिया