भद्रपुर (झापा) ।
गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा प्रहरीबाट लुटिएको एक थान सटगनसहित प्रहरीले झापाको दमकबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२, रतुवा पुल नजिकैस्थित अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आन्दोलनका क्रममा लुटिएको सटगन दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्राप्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएअनुसारको स्थानमा खोजतलास गर्दा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारेर लुकाइएको अवस्थामा एक थान सटगन फेला परेको हो।
प्रहरीका अनुसार बरामद हतियार कहाँबाट लुटिएको थियो र आन्दोलनका क्रममा उक्त सटगन कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रहरी नायब उपरीक्षक अवाले घटनासँग जोडिएका अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको जानकारी दिनुभयो।











प्रतिक्रिया