बितेको ३५ वर्षको हिसाब होइन, आगामी ३५ वर्षको योजना बनाऔँ : रवि लामिछाने


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्ताले आफ्ना गतिविधिका कारण लोकतन्त्र र पार्टीको प्रतिष्ठामा आँच आउन नदिन थप जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्।

रास्वपाले काठमाडौंमा केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन गर्दै लामिछानेले विगतका दलका कमजोरी देखाएर मात्रै आफूहरू उम्किन सक्ने अवस्था अब नरहेको बताए।

उनले सरकार वा पार्टी नेतृत्वबाट हुने गलत गतिविधिको असर सम्पूर्ण पार्टीमा पर्ने भन्दै कुनै काम गर्न नसके पनि गलत काम नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे। “सरकारले बाटो बिराएमा हाम्रो शिर झुक्छ। शिर झुकाउने काम हामी कसैले गर्नु हुँदैन,” उनले भने।

लामिछानेले विगतमा पुराना राजनीतिक दलका कमजोरीलाई आलोचना गरेर आफूहरूलाई तुलनात्मक रूपमा राम्रो देखाउन सकिने अवस्था रहे पनि अहिले रास्वपा स्वयं जिम्मेवारीको भूमिकामा पुगेकाले त्यस्तो सुविधा नरहेको बताए।

उनले अब विगतको ३५ वर्षको समीक्षा र दोषारोपणमा मात्र केन्द्रित हुनुभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने स्पष्ट योजना निर्माण गर्नुपर्नेमा जोड दिए। “हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्ष कस्तो बनाउने भन्ने तयारी थालौँ,” उनले भने।

विगतमा निर्माण भएका विभिन्न संरचना अहिले पनि सञ्चालनमा रहेकाले ती संरचनालाई आधार बनाएर आगामी दिनमा देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट दृष्टिकोण जनतामाझ प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

रास्वपाले शिक्षा, स्वास्थ्य, विकास र अर्थतन्त्रका क्षेत्रमा स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै लामिछानेले पार्टीको आर्थिक तथा विकाससम्बन्धी दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य नीति, विकासको प्राथमिकता तथा अर्थतन्त्रको आगामी स्वरूपबारे पार्टीले स्पष्ट जवाफ दिन सक्नुपर्ने उल्लेख गरे।

राजनीतिक प्रशिक्षण केवल राजनीतिक विषयमा सीमित नराखी नयाँ ढंगले सोच्ने, विश्लेषण गर्ने र प्रस्तुत हुने क्षमताको विकासमा समेत केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

आफूहरू देशको ठूलो राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको दाबी गर्दै लामिछानेले त्यसअनुसार जिम्मेवारी पनि बढेको बताए। आफ्नो कारणले पार्टीका नेता–कार्यकर्ताको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “मेरा कारणले तपाईंहरूको शिर झुक्न दिन्न। तपाईंहरूको शिर उठाउने जमर्को गर्छु।”

राजनीतिक यात्रामा असफलता वा चुनौती आउन सक्ने भए पनि त्यसबाट उठेर पुनः अघि बढ्न सक्ने क्षमता विकास गर्नुपर्ने उनले बताए। प्रत्येक नेता–कार्यकर्ताले आफ्ना कारण पार्टीको प्रतिष्ठामा आँच नआउने प्रतिबद्धता लिनुपर्ने लामिछानेको भनाइ थियो।

विभिन्न पेसा र क्षेत्रबाट मानिसहरू राजनीतिमा सहभागी भएकाले रास्वपाका नेता–कार्यकर्ता अझ बढी जिम्मेवार हुनुपर्ने उनले बताए। जानाजान वा अनजानमा भएका गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न नहुनेमा उनले सचेत गराए।

देशका विभिन्न संघसंस्था र नागरिक क्षेत्रमा डरको वातावरण देखिए पनि त्यसलाई लोकतन्त्र कमजोर भइसकेको निष्कर्षका रूपमा लिन नहुने लामिछानेले बताए। लोकतन्त्रलाई अझ बलियो बनाउँदै लैजाने जिम्मेवारी रास्वपाका नेता–कार्यकर्ताको काँधमा रहेको उल्लेख गर्दै उनले जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।