सरकार अधिनायकवादतर्फ उन्मुख भएको प्रदीप ज्ञवालीको आरोप


काठमाडौँ ।

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र संस्थालाई कमजोर पार्दै ‘निर्वाचित अधिनायकवाद’ तर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तर्क्रियामा बोल्दै नेता ज्ञवालीले मुलुक अहिले असामान्य परिस्थितिबाट गुज्रिरहेको बताएका हुन्। लामो राजनीतिक संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता तथा नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक वातावरणमाथि चुनौती थपिएको उनको भनाइ छ।

ज्ञवालीले ठूलो जनादेशसहित सरकारमा आएको नेकपाले पछिल्ला पाँच महिनामा अधिनायकवादी प्रवृत्तिका संकेत देखाएको दाबी गरे। संसदमा सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्न सक्ने प्रभावकारी राजनीतिक शक्ति कमजोर रहेको भन्दै उनले सरकारको स्वेच्छाचारिता बढ्न सक्ने आशंका व्यक्त गरे।

उनले राष्ट्रपति संस्था, संसद, सत्तारूढ दल, न्यायालय तथा सञ्चारमाध्यमलगायतका लोकतान्त्रिक संस्थाहरूको भूमिकालाई सरकारले पर्याप्त महत्व नदिएको आरोप लगाए। सरकारलाई उनले ‘बेलगाम घोडाजस्तो’ अधिनायकवादको दिशामा अघि बढिरहेको संज्ञा दिएका छन्।

ज्ञवालीका अनुसार हालको संसदमा सरकारसँग झन्डै दुईतिहाइको जनादेश रहेकाले संविधान संशोधनका विषयमा समेत जोखिम बढेको छ। प्रतिनिधिसभामा संविधान निर्माणका पक्षधर राजनीतिक शक्तिहरूको उपस्थिति कमजोर भएकाले सरकारका सम्भावित प्रतिगामी कदमलाई संसदबाटै रोक्न कठिन हुने उनको तर्क छ।

उनले राष्ट्रिय सभाले संवैधानिक सन्तुलन कायम गर्ने भूमिका खेल्न सक्ने भए पनि प्रतिनिधिसभाको वर्तमान शक्ति सन्तुलन भने प्रतिकूल रहेको बताए। संविधान, लोकतान्त्रिक गणतन्त्र र नागरिक अधिकारको संरक्षणका लागि लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेकोमा उनले जोड दिए।