हेटौँडा ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को समयमा आदेशको प्रतीक्षा गरेर बस्नुभन्दा आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवका अवसरमा साउन ६ गते आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो।
उहाँले विपद् व्यवस्थापन कुनै एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै प्रभावकारी समन्वय र सहकार्यलाई यसको प्रमुख आधारका रूपमा लिनुपर्ने बताउनुभयो। प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा थप सक्रिय भएर परिचालन हुन उहाँले जोड दिनुभयो।
महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्ग सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। कार्यक्षेत्रमा खटिने राष्ट्रसेवकहरू अझ व्यावसायिक, इमानदार, नैतिकवान् र कर्तव्यनिष्ठ हुनुपर्ने भन्दै उहाँले परिस्थितिअनुसार तत्काल निर्णय लिन सक्ने क्षमता विकास गर्न निर्देशन दिनुभयो।
पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका जातीय, धार्मिक तथा साम्प्रदायिक विवादले सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै महानिरीक्षक पौडेलले यस्ता घटनामा परिचालन हुने सशस्त्र प्रहरीले मानवअधिकारको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। कानुनी दायराभित्र रहेर न्यायोचित रूपमा मात्र बल प्रयोग गर्न तथा सुरक्षा परिचालन र कारबाहीमा संगठनको कुनै कमीकमजोरी नदेखिने गरी कार्य गर्न उहाँले निर्देशन दिनुभयो।
व्यक्तिगत आग्रह–पूर्वाग्रहलाई थाती राखेर कमाण्डर तथा नेतृत्व वर्गसँग सहकार्य गर्दै संगठन विकासका लागि एउटै लक्ष्यका साथ अघि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा वृत्तिविकासका अवसरहरू आफैँ सिर्जना हुँदै जान्छन्।”
सीमावासीसँगको सुमधुर सम्बन्ध सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको बताउँदै महानिरीक्षक पौडेलले सीमावासीको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा तथा व्यवस्थापनमा जोड्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई थप सुदृढ गर्दै अन्य आवश्यक कार्यक्रमसमेत सञ्चालन गर्न निर्देशन दिनुभयो।
आपद्–विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भरोसायोग्य संगठनका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उहाँले संगठनले लिएको लक्ष्यअनुसार काम गर्न प्रत्येक कर्मचारीलाई आग्रह गर्नुभयो। साथै, प्रत्येक कमाण्डरले दण्ड र पुरस्कारको नीतिलाई कडाइका साथ लागू गर्दै कार्यक्षेत्रमा कर्मचारी परिचालन गर्नुपर्ने बताउनुभयो।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टोली, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा बाहिनीलाई सहयोग पुर्याउने विभिन्न संघसंस्था र व्यक्तित्वलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।











प्रतिक्रिया