गरिमा चौधरी हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण


काठमाडौं ।

बारा, सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्यालगायत देशभर बालिका तथा किशोरीमाथि भइरहेका हिंसा, यौन दुर्व्यवहार र अनलाइन हिंसाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सिजपले घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय, निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकालाई घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइनमा सुरक्षित वातावरण सुनिश्चित गर्न, बालअधिकार र कानुनी साक्षरता प्रभावकारी बनाउन तथा यस्ता घटनाको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सिजपले पीडित बालबालिकाको पहिचान खुल्ने विवरण, विभत्स तस्बिर, भिडियो तथा शवका दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक वा प्रसार नगर्न समेत आग्रह गरेको छ। यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता र सम्मानमा असर पार्नुका साथै अन्य बालबालिकामा समेत डर तथा मनोसामाजिक असर पर्न सक्ने सिजपको भनाइ छ।