छोराको एसईई नसकिएसम्म विदेशी आमालाई नेपालमै बस्न उच्च अदालतको आदेश


काठमाडौँ ।

उच्च अदालत पाटनले नाबालक छोराको शिक्षा र ‘सर्वोत्तम हित’लाई प्राथमिकता दिँदै विदेशी नागरिक मोनिका रोमेइकोलाई छोराको एसईई परीक्षा र नतिजा प्रकाशन नहुँदासम्म नेपालमा बस्न दिन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइकेलको संयुक्त इजलासले मोनिकाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायका नाममा यस्तो आदेश दिएको हो।

मोनिकाका छोरा इजा रोमेइको नूरमोहम्मद सन् २०२० देखि कास्कीको पोखरा महानगरपालिकास्थित ताल बाराही माध्यमिक विद्यालयमा अध्ययनरत छन्। उनी अहिले कक्षा १० मा अध्ययनरत छन् र एसईईको तयारीमा छन्।

छोराको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरे पनि आमाको हकमा संरक्षकका रूपमा आवश्यक ‘आश्रित भिसा’ नवीकरणको सिफारिस नगरिएपछि मोनिका अदालत पुगेकी थिइन्। उनले छोराको संरक्षण तथा अध्ययनलाई निरन्तरता दिन आफूलाई नेपालमा बस्न अनुमति दिन माग गरेकी थिइन्।

अदालतले बालकले कक्षा ५ देखि कक्षा १० सम्म नेपालमै निरन्तर अध्ययन गरिरहेको र अहिले एसईईको तयारीमा रहेको तथ्यलाई महत्वपूर्ण आधार मानेको छ। आमालाई नेपालबाट बाहिरिनुपर्ने अवस्था आएमा त्यसले नाबालकको संरक्षण र शिक्षामा प्रतिकूल असर पर्न सक्ने अदालतको ठहर छ।

अदालतले बालकको एसईईमा सहभागी भई नतिजा प्रकाशन हुने समयसम्म मोनिकाको भिसा कानुनबमोजिम नियमित गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ। त्यसका लागि लाग्ने दस्तुर लिनसमेत आदेशमा भनिएको छ।

साथै, मोनिकालाई नेपाल छाड्नुपर्ने अवस्था आएमा त्यसबारे पर्याप्त समयअघि सूचना दिनुपर्ने व्यवस्था गर्न पनि अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ।

यस आदेशसँगै छोराको शिक्षा र संरक्षणलाई प्राथमिकता दिँदै मोनिकालाई तत्काल नेपाल छाड्नुपर्ने बाध्यताबाट राहत मिलेको छ।