काठमाडौँ, (नेस) ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज शुक्रवारबाट बस्दै छ । पार्टी सभापतिको निर्देशनअनुसार शुक्रवार बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बस्ने बैठकमा संगठन विस्तार, केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनदेखि आगामी स्थानीय निर्वाचनको तयारीसम्मका विषयमा महत्वपूर्ण छलफल हुने भएको छ ।
चितवन महाधिवेशनपछि पार्टीको केन्द्रीय संरचनालाई थप पूर्णता दिने क्रममा केन्द्रीय सदस्य मनोनयन बैठकको प्रमुख एजेण्डाका रूपमा रहने देखिएको छ । अहिले पार्टी सभापति र प्रधानमन्त्रीबीच सरकार सञ्चालन तथा कामकारबाहीलाई लिएर सम्बन्ध अपेक्षाकृत सहज नरहेको अवस्थामा बस्न लागेको बैठकलाई संगठनभित्रको शक्ति सन्तुलनका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।
केन्द्रीय सदस्यमा कसको बाहुल्यता रहने भन्ने विषयमा पार्टीभित्र विभिन्न समूहले आ–आफ्नै तयारी गरिरहेको बताइएको छ । केन्द्रीय सदस्य मनोनयनसँगै पदाधिकारी चयनसमेत बैठकको महत्वपूर्ण विषय बन्ने भएको छ ।
बैठकले एक उपसभापति, एक महामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र एक सहप्रवक्ता मनोनयन गर्ने विषयमा निर्णय लिनुपर्नेछ । त्यस्तै सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुखको मनोनयनसमेत बैठकको कार्यसूचीमा राखिएको छ ।
पार्टीले बैठकका लागि सार्वजनिक गरेको कार्यसूचीअनुसार संगठनात्मक व्यवस्थापन र मनोनयनका विषयसँगै आगामी स्थानीय निर्वाचनको तयारीलाई समेत प्राथमिकतामा राखिएको छ ।
रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने तयारी गरेको छ । बैठकमा ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने प्रस्ताव राखिएको छ ।
त्यसैगरी, स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी रूपरेखाबारे केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत निर्णय हुने भएको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसमेत बैठकको कार्यसूचीमा राखिएको छ । यसले रास्वपाले आगामी स्थानीय निर्वाचनलाई संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने महत्वपूर्ण अवसरका रूपमा लिन थालेको सङ्केत गरेको छ ।
बैठकमा ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई मतदाताले निश्चित प्रक्रियामार्फत फिर्ता बोलाउन सक्ने अवधारणासम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल हुने भएको छ ।
रास्वपाले राजनीतिक जवाफदेहितासँग जोडिएको यो अवधारणालाई आफ्नो नीतिगत दस्तावेजका रूपमा अघि बढाउने तयारी गरेको हो । बैठकले यसको दस्तावेज निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गर्नेछ ।
पार्टीले आफ्नो मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा लैजाने भएको छ । पार्टीका गतिविधि, नीति, कार्यक्रम तथा राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने उद्देश्यले डिजिटल माध्यमबाट नियमित प्रकाशन गर्ने तयारी गरिएको हो ।
केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनसँगै सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुखहरूको मनोनयन पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ । यसबाट महाधिवेशनपछि पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित र कार्यात्मक बनाउने तयारी रास्वपाको देखिन्छ ।
चितवन महाधिवेशनपछि पार्टीभित्र नयाँ नेतृत्व संरचना निर्माणको चरणमा रहेको अवस्थामा केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनले पार्टीको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिन्छ ।
विशेषगरी सभापति र प्रधानमन्त्रीबीच सरकार सञ्चालनको शैली तथा कामकारबाहीका विषयमा सम्बन्धमा देखिएको चिसोपनका बीच बस्न लागेको बैठकलाई पार्टीभित्रको भावी शक्ति समीकरणका दृष्टिले समेत चासोका साथ हेरिएको छ ।
यद्यपि बैठकको औपचारिक कार्यसूचीमा पार्टी सभापति र प्रधानमन्त्रीबीचको सम्बन्धबारे छुट्टै एजेण्डा राखिएको छैन । बैठकको मुख्य केन्द्र संगठनात्मक व्यवस्थापन, मनोनयन, स्थानीय निर्वाचनको तयारी तथा पार्टीका नीति–कार्यक्रममा रहनेछ ।
आजको बैठकले केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनमार्फत पार्टीको आन्तरिक संरचनालाई कस्तो आकार दिन्छ भन्ने विषयले रास्वपाभित्रको आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।











प्रतिक्रिया