–बजेट पास नभएको भन्दै तलब रोकियो, पदाधिकारीबीचको विवादको मार कर्मचारीमाथि
–‘तलबमा समस्या छैन’ भन्ने पदाधिकारीको दाबी, तर कर्मचारीको खातामा अझै पुगेन रकम
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बस्न नसक्दा केन्द्रीय कार्यालयमा कार्यरत ३ सय कर्मचारीले तलब पाएका छैनन् । तलब खान नपाएपछि कर्मचारीहरू त्रिविका पदाधिकारीलाई गुनासो गर्न थालेका छन् ।
‘जेठमा आउनुपर्ने बजेट साउन सकिँदासम्म आएको छैन । साउन अन्तिममा पाउनुपर्ने तलब हालसम्म पाएका छैनौँ । यही अवस्थामा रहिरहने हो भने पदाधिकारी नियुक्ति हुनेछैन । तलब आउन सक्दैन’ –ती कर्मचारीले भने ।
त्रिविका उपकुलपति प्राडा भोला थापाले केही दिनअघि नेपाल समाचारपत्रसँग कुरा गर्दै तलब खुवाउनलाई कुनै समस्या नभएको बताउनुभएको थियो । तर हालसम्म अत्तोपत्तो छैन । उपकुलपति थापाले रेक्टर र रजिष्टार नियुक्ति गर्न नसक्दा आर्थिक अवस्था डामाडोल भएको छ ।
स्रोतका अनुसार साउन २५ मा तलब छलफल भएको थियो । त्यसपछि कार्यकारीको बैठक बसेर निर्णय गर्नुपथ्र्यो, हालसम्म भएको छैन । उपकुलपतिले रेक्टर र रजिस्टारको नाम सिफारिस गरेर कुलपतिलाई पठाएपछि निमित्तको जिम्मेवारी पाएका दुई पदाधिकारी र उपकुलपतिबीच छलफल हुन सकेको छैन ।
‘आज कार्यकारीको बैठक बसेर तलब दिने निर्णय गर्ने तयारी थियो । हालसम्म भएको छैन’ –बिहीवार एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । बैठक बस्न नसकेको कारण तलब रोकिएको छ । त्रिविमा बजेट पास नभएसम्म तलबबाहेक अन्य खर्च गर्न सक्ने अवस्था छैन । उपलकुलपति थापाले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पछि सभा बस्दा मिलाउने जिम्मा आफूले लिने भन्दै दुई पदाधिकारीलाई कन्भिन्स गराउनुभएको थियो । कन्भिन्स त भयो होला, तलब आउन सकेको छैन ।
त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले त्रिविका कर्मचारीलाई तलब खुवाउन समस्या नभएको दाबी गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सफ्टवेयरमा केही समस्या भएको होला । अन्य विषयमा खर्च गर्न बजेटले रोके पनि तलब खुवाउन समस्या छैन ।’ उहाँले बुधवार यो जवाफ दिनुभएको थियो । हालसम्म तलब खान पाएका छैनन् ।
प्रवक्ता भण्डारीले तलब खुवाउने प्रकृया सकिएको जानकारी गराउनुभएको थियो । स्रोतका अनुसार निमित्त रेक्टर शंखर खनालले उपकुलपतिसँग कुरा गर्दै दुई पदाधिकारी सिफारिस भैसकेको अवस्थामा बैठक बस्नुको खासै औचित्य नभएको जवाफ उपकुलपतिलाई दिनुभएको छ ।
एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘दुई पदाधिकारीहरूको सिफारिस भैसकेपछि निमित्तको जिम्मेवारी पाएका दुबै जना कुर्सीमा बस्नुकोे औचित्य छैन । कुर्सीमा बसेर कर्मचारीलाई तलब दिने विषयमा उपकुलपतिसँग लबिङ गर्न नसक्नु कमजोरी हो ।’
केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई नियमित मासिक तलब दिन त्रिविको बजेट पास नभएकाले कर्मचारीले तलब पाउन नसकेको कर्मचारीको भनाइ छ । त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषद्ले तलब दिने निर्णय गर्न सक्छ ।
त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले तलब खुवाउन समस्या नभएको तर कार्यकारीको बैठक बस्न नसक्दा रोकिएको बताउनुभयो । उहाँले ‘अन्य विषयमा पछि निर्णय गर्न सक्नेले कर्मचारीको तलब दिने विषयमा किन निर्णय गर्न सकिँदैन’ भन्नुभयो । प्रवक्ता भण्डारीले सबै तलबको कुनै समस्या नभएको दाबी गर्दै यो विषय निर्णयको क्रममा रहेको बताउनुभयो ।











प्रतिक्रिया