गरिमा हत्याकाण्डमा ७२ घण्टामा कहाँ चुक्यो प्रहरी ?


तीन दिनपछि शव भेटियो, दुई पक्राउ
सांसदद्वारा प्रहरीको ‘एक्सन लग’ माग

काठमाडौँ ।

हराएको तीन दिनपछि तीन वर्षीया गरिमा चौधरीको शव भेटिएपछि आक्रोशित बनेका स्थानीयहरूले मुख्य राजमार्गदेखि ग्रामीण सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । पीडित परिवार र स्थानीयले बिहीवार बिहानैदेखि उपमहानगरपालिकामा पर्ने वीरगञ्ज–पथलैया औद्योगिक मार्गको सिमरा, सिमरा–डुमरवाना सडक खण्ड, पिलुवा–वडहर्वा सडक खण्डका साथै भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि बुधवार दिउँसोबाटै वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न नसकेको कारण वीरगञ्ज भन्सारबाट छुटेका सयौँ मालबाहक सवारी साधनहरू सडकमै अलपत्र परेका छन् ।

हत्याको विरोधमा जीतपुर सिमराभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीवार शोकसभा गरेर विद्यालय बन्द गरेका छन् । साथै ती विद्यालयहरूले विज्ञप्ति जारी गर्दैै घटनाका दोषीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

सोही घटनालाई लिएर न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा पनि प्रदर्शन गरिएको छ । प्रदर्शनमा युवाहरूले घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्ति नगरकी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । खोजीका क्रममा भदौ २ गते साँझ घरबाट करिब १५० मिटर दक्षिणतर्फ पाँच महिनादेखि खाली रहेको घरमा उनको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमालाई चकलेटको प्रलोभन देखाएर लगिएको र यौन हिंसापछि हत्या गरिएको आशङ्का गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुर सिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोगे्रेस चौधरीलाई पक्राउ गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा १६ वर्षीय थापाले गरिमालाई चकलेटको प्रलोभन देखाएर लगेको खुलेको छ । थापा जीतपुर सिमरा क्षेत्रमै म्याजिक गाडीका सहचालकका रूपमा काम गर्ने व्यक्ति हुन्। अनुसन्धानका क्रममा म्याजिकका धनी २४ वर्षीय चौधरीलाई पनि पक्राउ गरिएको हो ।

प्रहरीले समयमै खोजतलास नगरिदिएका कारण आफ्नो छोरीलाई बचाउन नसकिएको भन्दै मृतक बालिकाका बुबा मनोज चौधरीले प्रहरीको प्रारम्भिक भूमिकाको समेत छानबिन गरी दोषी प्रहरीलाई कारवाहीको माग गर्नुभएको छ ।अहिले बालिकाको हत्यामा संलग्न व्यक्तिको खोजी र पक्राउमा मात्र सीमित रहेन । बालिका हराएको सूचना पाएपछि प्रहरीले बिताएको पहिलो २४ घण्टा कहाँ गयो ? भन्ने प्रश्न प्रतिनिधिसभादेखि सडकसम्म उठेको छ ।

यसैबीच गत बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले बालिका हराएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट २४ घण्टासम्म पर्याप्त खोजी तथा कारबाही नभएको आरोप लगाउँदै सम्बन्धित प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गर्न माग गर्नुभएको थियो । बालिका हराएको सूचना प्रहरीलाई कति बजे पुग्यो, त्यसपछि प्रहरीको पहिलो टोली कहिले परिचालन भयो, कहाँ–कहाँ खोजी गरियो र सम्भावित व्यक्तिमाथि अनुसन्धान कहिले सुरु भयो ? भन्ने विवरण प्रहरीको अभिलेखबाट खुल्न सक्ने भन्दै प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गर्न माग गरिएको हो । प्रहरीले समयमै खोजी गरेको भए त्यसको विवरण सार्वजनिक हुँदा उठेको प्रश्नको जवाफ आफैँ आउनेछ । ढिलाइ भएको भए त्यसको कारण पनि अभिलेखबाटै देखिनेछ ।

घटनाको अर्काे गम्भीर पक्ष शव भेटिएको स्थान हो । गरिमा हराएको घरबाट करिब १५० मिटरको दूरीमै रहेको खाली घरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उक्त घर करिब पाँच महिनादेखि खाली रहेको बताइएको छ । बालिका तीन दिनसम्म बेपत्ता रहँदा परिवार र स्थानीयसँगै प्रहरीले समेत खोजी गरिरहेको अवस्थामा घरबाट यति नजिक शव भेटिनुले प्रारम्भिक खोजीको दायरामाथि प्रश्न उठाएको छ । तर प्रहरीले कुन–कुन स्थानमा कति समय खोजी गरेको थियो भन्ने विस्तृत विवरण सार्वजनिक नभएसम्म यसैलाई आधार बनाएर प्रहरीको लापरबाही निष्कर्ष निकाल्न नसकिने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

अनुसन्धानमा आरोपित पक्राउ पर्नु सकारात्मक पक्ष भए पनि बालिका हराएको समय र शव भेटिएको समयबीचको करिब ७२ घण्टा अहिले घटनाको महत्वपूर्ण पाटो बनेको छ ।

विशेषगरी पहिलो २४ घण्टामा प्रहरीको प्रतिक्रिया कस्तो थियो भन्ने प्रश्नले घटनाको अनुसन्धानमा नयाँ आयाम थपेको छ ।
बालबालिका हराएको घटनामा उमेर र जोखिमको प्रकृति महत्वपूर्ण हुन्छ । तीन वर्षीया बालिका आफैँ टाढा जान सक्ने सम्भावना सीमित हुन्छ । त्यसैले उनी हराएको सूचना प्राप्त भएपछि अपहरण वा अन्य आपराधिक घटनाको सम्भावनालाई प्रारम्भमै उच्च प्राथमिकतामा राखिएको थियो कि थिएन भन्ने प्रश्न उठेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले आरोपितसम्म पुग्नु अनुसन्धानको एउटा महत्वपूर्ण उपलब्धि हो । तर गरिमा जीवित हुन सक्ने तीन दिनमा खोजी संयन्त्र कति प्रभावकारी थियो ? भन्ने प्रश्न पनि सँगसँगै उठेको छ । अपराध भएपछि आरोपित पक्राउ गर्नु प्रहरीको जिम्मेवारी हो । तर हराएको बालबालिकालाई समयमै खोजेर सुरक्षित घर फर्काउनु प्रहरीको सबैभन्दा पहिलो जिम्मेवारी हो ।

गरिमाको हत्या कसले ग¥यो र गरिमा हराएपछि उनलाई खोज्न राज्यको संयन्त्रले के ग¥यो ? भन्ने प्रश्नमध्ये पहिलो प्रश्नको उत्तर अनुसन्धान र अदालतबाट आउनेछ । दोस्रो प्रश्नको उत्तर भने प्रहरीको ‘एक्सन लग’, घटनास्थलको खोजी विवरण र जिम्मेवार अधिकारीको अभिलेखबाट तत्कालै खोज्न सकिन्छ ।

तीन वर्षीया गरिमा अब फर्कने छैनन् । तर उनको घटनाले उठाएको प्रश्नको उत्तर नखोजिएसम्म अर्काे गरिमा हराउँदा पनि उही ७२ घण्टा दोहोरिने जोखिम भने कायमै रहनेछ ।