काठमाडौँ।
बंगलादेशको संसदले सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति निर्वाचित गरेको छ।
आलमगीर २५५ मत प्राप्त गर्दै बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित भएका हुन्। करिब ३५ वर्षपछि बंगलादेशमा राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको बताइएको छ।
बीएनपीले राष्ट्रपतिका लागि आलमगीरलाई उम्मेदवार बनाएको थियो। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका लामो समयदेखिका प्रमुख राजनीतिक विरोधीका रूपमा चिनिन्छन्। विद्यार्थी आन्दोलन चर्किएपछि सन् २०२४ मा हसिना सत्ताबाट बाहिरिएर हाल भारतमा बस्दै आएकी छन्। बंगलादेशले उनलाई भारतबाट सुपुर्दगी गर्न समेत आग्रह गर्दै आएको छ।
कठिन राजनीतिक परिस्थितिमा बीएनपीलाई नेतृत्व दिन आलमगीरले महत्वपूर्ण भूमिका खेलेका थिए। राजनीतिक गतिविधिका क्रममा उनी पटक–पटक पक्राउसमेत परेका थिए।
बंगलादेशमा राष्ट्रपतिको पद परम्परागत रूपमा औपचारिक मानिन्छ। तर, पछिल्लो समय प्रस्तावित राजनीतिक तथा संवैधानिक सुधारमार्फत राष्ट्रपतिलाई थप अधिकार दिने विषयमा बहस हुँदै आएको छ। यस्तो व्यवस्था लागू भएमा राष्ट्रपतिले सरकारका शीर्ष नेतृत्वबीच शक्ति सन्तुलन कायम गर्न थप भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया