डिभी २०२७ को दर्ता खोल्न माग गर्दै विदेशमन्त्री रुबियोविरुद्ध संघीय अदालतमा मुद्दा


काठमाडौँ । 

क्यालिफोर्नियास्थित एक कानुन फर्मले बुधबार संघीय अदालतमा मुद्दा दायर गर्दै विदेशमन्त्री मार्को रुबियोलाई सन् २०२७ को डाइभर्सिटी भिसा कार्यक्रम का लागि दर्ता प्रक्रिया खोल्न बाध्य पार्न माग गरेको छ। फर्मले विदेश मन्त्रालयको निरन्तर निष्क्रियताका कारण अमेरिकी कांग्रेसबाट स्वीकृत कार्यक्रम कार्यान्वयन हुन नसक्ने जोखिम बढेको दाबी गरेको छ।

डाइभर्सिटी भिसा कार्यक्रमको परम्परागत शरदकालीन दर्ता अवधि बितिसक्दा पनि र सेप्टेम्बर ३० मा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विदेश मन्त्रालयले डीभी–२०२७ को दर्ता मिति घोषणा गरेको छैन। यसले नेपालसहित विश्वभरका सम्भावित आवेदकलाई ग्रिनकार्ड चिट्ठामा कहिले र कसरी सहभागी हुन पाउने भन्ने विषयमा अन्योलमा पारेको छ।

रेड इगल ल, एल.सी. ले अगस्ट १९ मा क्यालिफोर्नियाको दक्षिणी जिल्लाका लागि रहेको अमेरिकी जिल्ला अदालतमा उजुरी दायर गरेको हो। रेड इगल ल, एल.सी. विरुद्ध रुबियो नामको उक्त मुद्दाको नम्बर ३:२६–सीभी–०४७३८–जेओ–भीईटी रहेको छ। मुद्दा अमेरिकी जिल्ला न्यायाधीश जिनसुक ओह्टा र अमेरिकी मजिस्ट्रेट न्यायाधीश भ्यालेरी ई. टोरेसलाई तोकिएको छ। सोही दिन प्रतिवादीका नाममा समन्स जारी गरिएको थियो।

कानुन फर्मले आर्थिक वर्ष २०२७ का लागि डाइभर्सिटी भिसा कार्यक्रम कार्यान्वयन गर्न रुबियो असफल भएको कार्यलाई गैरकानुनी घोषणा गर्न तथा विदेश मन्त्रालयलाई सेप्टेम्बरमा कम्तीमा ३० दिनको दर्ता अवधि तोक्न आदेश दिन अदालतसँग माग गरेको छ।