‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक

0
Shares

काठमाडौँ ।

काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरू कुन ठाउँमा छन् र आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक भएको छ ।


यो एप्लिकेसन पहिलो चरणमा १ हजार २ सय सवारीसाधनमा जडान गरिएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद््ले यसलाई क्रमशः बढाउँदै लैजाने निर्णय गरेको छ । परिषद््को बैठकमा अध्यक्ष एवं कामपाका कार्यवाहक मेयर सुनिता डंगोलले उक्त एप्लिकेसन सार्वजनिक गर्नुभएको हो ।

यस वर्षका लागि बस स्टप र ‘पिक ड्रप प्वाइन्ट’ निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बसपार्क आदिमा जीपीएस ट्र्याकिङसमेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान र नगदरहित भाडादर लागू गर्न कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् । टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउनेलगायतका अध्ययन अनुसन्धानका कार्यक्रम पनि सञ्चालन गरिने परिषद््को बैठकले निर्णय गरेको छ ।

बैठकमा मेयर डंगोलले उपत्यकाभित्र बिहान र दिउँसो चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन एप्लिकेसन जडान गरेको हो । रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कुल कलेज जानुपर्ने विद्यार्थीहरूका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले यसका लागि स्थानीय तहहरूका बिचमा वित्तीय साझेदारीसहितको प्रणालीमा काम गर्नुपर्ने मेयर डंगोलको भनाइ छ ।

सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र नभई पालिका–पालिका जोडिने भएकाले यो पालिकाहरूको साझा सवाल भएको जिकिर गर्दै उहाँले यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्ने बताउनुभयो ।

बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषद््ले आकार बदल्न सक्ने क्षमता राख्छ । यो क्षमताको प्रयोग गरौँ ।’

बैठकमा सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन नसकेको बताउनुभयो । अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘यस वर्ष पुनसंरचित गर्ने भन्ने नेपाल सरकारको निर्णय आएको छ । यसकारण चालु आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तावित गरिएका छन् ।’

छलफलमा उपत्यकाका नगरपालिकाबीच आपसी सम्बन्ध र सहकार्य, सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्र लक्षित सार्वजनिक यातायात सञ्चालनलगायत विषयमा सुझाव प्राप्त भएका छन् ।

परिषद््को पहिलो बैठक २०८० भदौ २८ गते बसेको थियो । सो बैठकले संघीय राजधानी सहरीक्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । दोस्रो बैठक २०८१ साल १४ गते बसेको थियो । सो बैठकमा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरिएको थियो । परिषद् सदस्यको संख्या ३५ छ ।

परिषद्मा कामपाका कार्यवाहक मेयर डंगोल अध्यक्ष, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन उपाध्यक्ष, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य हुनुहुन्छ । परिषद्का प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन — २०७९’ को दफा ३ बमोजिम प्रदेश सरकारले सहरी क्षेत्रभित्रका सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्नका लागि एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने गरी बढीमा ७ सदस्यीय सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न सक्ने व्यवस्था गरेको छ ।

ऐनको दफा १२ मा संघीय राजधानी सहरीक्षेत्र सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विशेष व्यवस्था छ । यसमा संघीय राजधानी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने प्रबन्ध गरिएको छ । ऐनअनुसार हरेक प्रदेशमा १÷१ वटा र संघीय राजधानीमा एउटा गरी ८ वटा प्राधिकरण हुनेछन् ।

संघीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न कामपाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सदस्य छन् ।

परिषद्मा सडक विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक वा महानिर्देशकले तोकेका राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वा उहाँले तोकेको प्रहरी उपरीक्षक, बागमती प्रदेशको यातायात विषय हेर्ने मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

यस्तै सार्वजनिक यातायात सञ्चालन गर्ने ठूला फरक कम्पनीका तर्फबाट १ जना महिलासहित ३ जना, उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूबाट १ महिलासहित २ जना, यातायात क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट बागमती प्रदेश सरकारले मनोनित गरेका १ जना महिलासहित ३ जना, परिषद्मा प्रतिनिधित्व नभएका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगरपालिकाका तर्फबाट प्रमुख वा उपप्रमुखमध्ये सम्बन्धित स्थानीय तहले मनोनित गरेका एक एक जना प्रतिनिधि, श्रमिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिषद्बाट मनोनित ३ सदस्य रहने कानुनी व्यवस्था छ ।