अँध्यारोमा चम्किने घडीका डायल बनाउने काम कहिल्यै यति खतरनाक हुन सक्छ भन्ने कल्पना ती युवतीहरूले गरेका थिएनन्। तर करिब एक शताब्दीअघि अमेरिकामा रेडियमयुक्त पेन्टसँग काम गर्ने युवतीहरूको जीवनमा यही चमक घातक साबित भयो। ‘रेडियम गर्ल्स’का रूपमा चिनिने यी कामदारहरूको संघर्षले पछि कार्यस्थल सुरक्षाको इतिहासमै महत्वपूर्ण परिवर्तन ल्यायो।
पहिलो विश्वयुद्धको समयमा राति पनि देखिने घडी र सैन्य उपकरणको माग बढेपछि अमेरिकाका विभिन्न कारखानामा युवतीहरूलाई रेडियमयुक्त पेन्टले घडीका डायल रंगाउने काममा लगाइएको थियो। त्यतिबेला रेडियमलाई आधुनिक र उपयोगी पदार्थका रूपमा प्रचार गरिन्थ्यो। कामलाई मसिनो बनाउन कामदारहरूलाई ब्रसको टुप्पो ओठले तिखार्न सिकाइएको थियो। यस क्रममा उनीहरूले थोरै–थोरै मात्रामा रेडियमयुक्त पेन्ट निल्ने गर्थे।न्यू जर्सी, इलिनोइस र कनेक्टिकटमा रहेका कारखानामा काम गर्ने युवतीहरूलाई मसिनो रेखा कोर्न ब्रसलाई पटक–पटक ओठको बीचमा राखेर टुप्पो तिखार्न सिकाइएको थियो। यस प्रक्रियालाई ‘लिप-पोइन्टिङ’ भनिन्थ्यो। यस क्रममा उनीहरूले रेडियमयुक्त पेन्टको सानो मात्रा निल्ने गर्थे। कामपछि उनीहरूको कपडा, कपाल र शरीरमा समेत रेडियमको धुलो टाँसिन्थ्यो, जसका कारण उनीहरू अँध्यारोमा चम्किने गर्थे। यही कारण उनीहरूलाई पछि ‘रेडियम गर्ल्स’ तथा ‘घोस्ट गर्ल्स’ भनेर चिनिन थालियो।
समय बित्दै जाँदा धेरै कामदारमा गम्भीर स्वास्थ्य समस्या देखिन थाले। दाँत तथा जबडामा समस्या, हड्डी कमजोर हुने, रक्तअल्पता र अन्य विकिरणसम्बन्धी रोग देखा परे। केही कामदारमा हड्डीको क्यान्सरसमेत देखिएको थियो। वैज्ञानिक अनुसन्धानले उनीहरूको शरीरमा रेडियम जम्मा भएको पुष्टि गर्यो।सुरुमा सामान्यजस्तो देखिएका दाँत दुख्ने, ढाड दुख्ने वा खुट्टा दुख्ने समस्याहरू समयसँगै गम्भीर बन्दै गए।
बिरामी परेका कामदारहरूले रोजगारदाता कम्पनीविरुद्ध कानुनी संघर्ष सुरु गरे। ग्रेस फ्रायरसहित पाँच महिलाले सन् १९२७ मा अमेरिकी रेडियम कर्पोरेसनविरुद्ध मुद्दा दायर गरे। उनीहरूको संघर्षले औद्योगिक क्षेत्रमा कामदारको स्वास्थ्य र सुरक्षाबारे ठूलो बहस सिर्जना गर्यो।कम्पनीले सुरुवातमा आफ्नो गल्ती स्वीकार गर्न अस्वीकार गरेको थियो। महिलाहरूको स्वास्थ्य समस्या यौनरोगका कारण भएको दाबीसमेत गरिएको थियो। तर उनीहरूको अवस्था र वैज्ञानिक अनुसन्धानबारे समाचारहरू व्यापक रूपमा प्रकाशित भएपछि जनमत उनीहरूको पक्षमा उभिन थाल्यो।सन् १९२८ मा उक्त मुद्दा अदालतबाहिर सम्झौतामा टुंगियो।
यसले कार्यस्थलमा रेडियोधर्मी पदार्थबाट हुने जोखिमलाई सार्वजनिक बहसको विषय बनायो। पछि इलिनोइसमा पनि रेडियम डायल कारखानाका महिला कामदारहरूले कानुनी संघर्ष जारी राखे। सन् १९३६ मा इलिनोइसमा औद्योगिक विषाक्तताबाट प्रभावित कामदारलाई रोजगारदाताले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहित नयाँ कानुन लागू भयो।‘रेडियम गर्ल्स’को कथा केवल विगतको एउटा दुर्घटना होइन, उद्योग र प्रविधिको विकाससँगै कामदारको सुरक्षालाई बेवास्ता गर्दा कस्तो भयावह परिणाम आउन सक्छ भन्ने ऐतिहासिक उदाहरण हो। उनीहरूको कानुनी संघर्षले रेडियोधर्मी पदार्थसँग काम गर्ने श्रमिकका लागि सुरक्षा मापदण्ड र औद्योगिक स्वास्थ्यसम्बन्धी सुधारका लागि दबाब सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।











प्रतिक्रिया