काठमाडौँ ।
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
निगमका अनुसार पछिल्लो समय बजारको मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको छ। काठमाडौं उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग रहे पनि अहिले त्यसको तुलनामा ५ देखि ८ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।
भदौ २ गते मात्रै काठमाडौं उपत्यकाका २२ वटा ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिन्डर बिक्री हुँदैछन्। त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यो सामान्य दैनिक मागभन्दा करिब १५ हजार सिलिन्डर बढी हो।
निगमका अनुसार साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा तीन लाख नौ हजार ५५३ सिलिन्डर बिक्री भइसकेका छन्। यसअनुसार दैनिक औसत बिक्री ४४ हजारभन्दा बढी देखिन्छ।
ग्यास उद्योगी व्यवसायीले अहिले देखिएको समस्या आपूर्ति अभावका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयात घटेपछि सरकारले समस्या व्यवस्थापनका लागि आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसको प्रभाव अहिले बजारमा देखिएको भए पनि अवस्था लामो समय नलम्बिने उनीहरूको भनाइ छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री हुन थालेपछि अवस्था थप सहज भएको छ। उनले आगामी एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको बताए।
साउनमा ४० लाखभन्दा बढी सिलिन्डर बिक्री
निगमका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक करिब एक लाख १० हजार सिलिन्डर बिक्री हुने गरेको छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास बिक्री भएको छ। यो परिमाण ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ सिलिन्डर बिक्री भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही महिनामा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ सिलिन्डर बिक्री भएको निगमको तथ्यांक छ।
आयात घट्दा आधा भरिएका सिलिन्डरको बिक्री
निगमको तथ्यांकअनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। सो अवधिमा उद्योगहरूले ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिन्डर बिक्री गरेका थिए। अघिल्लो वर्षको चैतमा भने ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० वटा पूरा भरिएका सिलिन्डर बिक्री भएका थिए।
त्यसैगरी, गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन, जेठमा ३३ हजार ८४२ मेट्रिक टन र असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको थियो। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४६ हजार ५०३, ४९ हजार ८१६ र ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।
निगमले पछिल्लो समय आपूर्ति बढाइएको र डिलरमार्फत नियमित बिक्री सुरु भइसकेकाले बजारमा देखिएको ग्यास अभाव क्रमशः हट्दै जाने जनाएको छ। उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर जम्मा नगरे बजारमा आपूर्ति व्यवस्थापन अझ सहज हुने निगमको भनाइ छ।











प्रतिक्रिया