७८ दिनपछि खुल्यो संसद्

प्रधानमन्त्री बालेनलाई जवाफ दिन सभामुख अर्यालको रुलिङ

1.13k
Shares

काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमवार अन्त्य भएको छ ।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन गर्नुभएसँगै विपक्षी दलहरू सदन सुचारु गर्न सहमत भएका हुन् । गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसक्रममा प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवादसम्बन्धी दुईवटा विषय राख्नुभएको थियो ।

नेपालको सीमाना विवादमा ‘हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ’ भन्दै प्रधानमन्त्री शाहले बेलायतले पनि सरोकार राख्नुपर्ने बताउनुभएको थियो । त्यसक्रममा उहाँले भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भनी अभिव्यक्ति दिनुभएको थियो । लगत्तै विपक्षी दलहरूले प्रधानमन्त्रीको सो अभिव्यक्ति तथ्यगत आधार र स्पष्टीकरण माग गरे तर त्यसको जवाफ दिन प्रधानमन्त्री शाह तयार हुनुभएन ।
विपक्षी दलहरूले त्यसलाई राष्ट्रियतासँग जोडिएको गम्भीर विषय भन्दै माफी वा स्पष्ट जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका थिए । त्यसपछि जेठ महिनामा १४ दिन, असारको ३२ दिन र श्रावणको ३१ दिनसम्म प्रतिनिधिसभामा विपक्षीको अवरोध जारी रहेको थियो । हरेक दिन बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध गर्ने र प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आए ।

हिजो प्रतिनिधिसभाको बैठक सुरु भएसँगै कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो ठाउँमा उभिएर विरोध जनाएका थिए । सांसदहरूले विभिन्न समसामयिक विषय र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले आफ्नो अधिकार प्रयोग नगरेको आरोप लगाउँदै विपक्षी दलहरूले सभामुख अर्यालमाथि नै प्रश्न उठाउँदै आएका थिए । प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग पर्याप्त अधिकार हुँदाहुँदै त्यसको प्रयोग नगरेकामा विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका थिए ।

विपक्षी दलहरूको लगातारको विरोधपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ अनुरूप प्रधानमन्त्रीलाई सांसदका प्रश्नहरूको जवाफ दिन रुलिङ गर्नुभयो । त्यसपछि सांसदहरू आ–आफ्नो स्थानमा बसेका थिए । नेकपाका नेता वर्षमान पुनले आ–आफ्ना सांसदहरूलाई बस्न आग्रह गरेपछि रुलिङपछि एकछिन अलमलमा परेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र पद्मा अर्याल पछि आपसी सल्लाह गरी आफ्नो सिटमा बस्नुभएको थियो ।

‘माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरू र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधि सभा नियमावलीको नियम ५६ देखि ५९ सम्मको व्यवस्थाबमोजिम जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई निर्देशन गर्दछु’ –सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्दै भन्नुभयो ।

नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा र उत्तर दिने प्रक्रियाबारे उल्लेख गरिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ । ती नियमअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ ।

सभामुखको रुलिङसँगै विपक्षी दलहरूले अवरोध हटाएपछि अब प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आगामी बैठकमा उपस्थित भएर सांसदका प्रश्नसँगै आफ्नो विवादास्पद अभिव्यक्तिबारे समेत जवाफ दिनुपर्ने भएको छ । प्रधानमन्त्री शाह हालसम्म प्रतिनिधिसभाको ६ वटा बैठकमा मात्र उपस्थित हुनुभएको छ ।