पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश, उपकरण फिर्ता गर्न निर्देशन


काठमाडौं ।

सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता दिन आदेश दिएको छ। आदेशसँगै श्रेष्ठलाई हिरासतमा राख्ने निर्णयमाथि अदालतले हस्तक्षेप गरेको हो।

श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले हिरासतमा राख्नुको औचित्यमाथि प्रश्न उठाउँदै उनलाई मुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशपछि पत्रकार श्रेष्ठको हिरासतमुक्त हुने बाटो खुलेको छ। साथै, पत्रकारको कार्यालयबाट नियन्त्रणमा लिइएका विद्युतीय उपकरण फिर्ता गर्नुपर्ने भएको छ।

अदालतको आदेशलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको महत्वपूर्ण फैसलाका रूपमा हेरिएको छ।