नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन


काठमाडौँ।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा आइतबार राति निधन भएको छ। पछिल्लो समय उनी स्वास्थ्य समस्याबाट पीडित थिए।

नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए।

नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई उनको साहित्यिक योगदानको कदर गर्दै ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

नेपाल भाषामा श्रेष्ठका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। नेपाल भाषा र साहित्यको क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई महत्वपूर्ण मानिन्छ। उनको निधनसँगै नेपाल भाषा साहित्यले एक विशिष्ट स्रष्टा गुमाएको छ।