धनगढी।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उहाँलाई आइतबार साँझ नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा रहनुभएका मन्त्री लम्साललाई रुघाखोकी, उच्च ज्वरो र टन्सिलको समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो।
बैतडीका प्रमुख जिल्ला अधिकारी मीरा अर्यालका अनुसार दार्चुलाको कार्यक्रम सम्पन्न गरी बैतडी पुग्नुभएका मन्त्री लम्सालको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि उहाँ आइतबार बिहानैदेखि होटेलमै आराम गरिरहनुभएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई बैतडीबाट नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी धनगढी ल्याइएको थियो। त्यसपछि धनगढीबाट सेनाको स्काई ट्रकमार्फत आइतबार साँझ नै काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ।
मन्त्री लम्साल बैतडी, दार्चुला र बझाङ लगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा सञ्चालित विकास निर्माणका आयोजनाहरूको स्थलगत अवलोकन तथा वस्तुस्थिति जानकारी लिने क्रममा हुनुहुन्थ्यो। आइतबार उहाँको बझाङ जाने तय कार्यक्रम रहे तापनि स्वास्थ्यमा समस्या आएपछि भ्रमणका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएका छन्।











प्रतिक्रिया