बुटवल।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा अधिवेशनको मितिका सम्बन्धमा उत्पन्न विवादको विषयले कुटपिटसम्म पुराएको छ । संघको भैरहवास्थित कार्यालयमा भएको बैठकमा विवादले वैठक स्थगित भएपछि लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव एवं संघका निर्वतमान अध्यक्ष विनय ज्ञवालीले संघका कार्यबाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात गरेका छन् । ज्ञवालीले बेल्बासेमाथि मुक्का प्रहार गर्दा कानको जालीमा असर परेको बेल्बासेले बताउनु भयो ।
गत जेठमा बसेको संघको कार्यसमिति वैठकले २०८३ मंसिरको १२ र १३ गते अधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा बैठकमा एजेण्डा नै नरहेको अधिवेशनको मिति असोजमा गर्नुपर्ने विषय संघका सदस्य शुभम रौनियारले उठाएपछि विवाद बढेको बेल्बासेले बताउनु भयो । मंसिरसम्म आफ्नो कार्यकाल रहेकाले मंसिरमै अधिवेशन गर्ने निर्णय भएर महासंघको प्रदेश समितिमा पनि जानकारी गराइएको थियो । आफ्नै कार्यकक्षमा प्रदेशकै महासचिवबाट कुटपिट हुनुले सिंगो संस्थाको बदनाम भएको उहाँले गुनासो गर्नु भयो । ‘संघको निवर्तमान अध्यक्ष तथा प्रदेश महासचिव अभिभावकको भूमिका खेल्नुपर्नेमा उल्टै हातपातमा उत्रिंदा निर्माण व्यवसायीकै बदनाम भयो’– बेल्बासेले भन्नु भयो । कुटपिटपछि बेल्बासेले वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारवाहीको माग गर्दै उजुरी दिएपनि समस्या समाधान नभएपछि जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिने बताउनु भयो ।
गएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएपछि संघकी अध्यक्ष मन्जु ज्ञवाली भुसालले महासचिव प्रितम रौनियारलाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन् । भुसालको निर्णय विरुद्ध अदालतमा मुद्दा समेत परेको थियो । रौनियारलाई कार्यवाहक तोक्नु संस्थाको विधान विपरीत भएकाले बेल्बासे कार्यवाहक अध्यक्ष बनेका हुन् । विधान विपरीत कार्यवाहक तोक्ने काम भएपछि नै संघमा आन्तरिकरुपमा राजनीतिक द्वन्द्व शुरु भएको संघका सल्लाहकार जवीन कक्षपतिले बताउनु भयो । व्यवसायिक संस्थालाई राजनीतिक छायाबाट अलग राख्नुपर्नेमा सत्ता र शक्तिको आडमा संस्थामा अनुचित चलखेल गलत भएको उहाँले बताउनु भयो । संघका निवर्तमान अध्यक्ष एवं प्रदेश महासचिव ज्ञवालीले कार्यवाहक अध्यक्ष बेल्बासेले अमर्यादित शब्द बोलेकाले आफूलाई सह्य नभएपछि हातपात गर्न बाध्य हुनु परेकोे स्विकार्नु भयो











प्रतिक्रिया