अनुभवहीन सरकारका कारण देश संकटमा : ओली


काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभवहीन र अदूरदर्शी नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।

इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिसँग देश सञ्चालन गर्ने आवश्यक सीप र अनुभव नरहेको दाबी गर्नुभयो।

उहाँले प्रक्रिया र शासन सञ्चालन नबुझेका व्यक्तिलाई देशको जिम्मेवारी दिँदा अपेक्षित परिणाम आउन नसक्ने बताउनुभयो। वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै ओलीले संविधानको उल्लंघन भइरहेको दाबीसमेत गर्नुभयो।

मुलुकको हित र विकासका लागि सक्षम तथा अनुभवी नेतृत्व आवश्यक रहेको भन्दै उहाँले संविधानको रक्षा र राष्ट्रिय हितका पक्षमा सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो।