पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदी खोलामा एक महिनामै तेस्रोपटक बाढी आएको छ । बुधवार राती आएको अविरल वर्षासँगै मोदी खोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको हो ।
हरेक वर्ष मनसुन सुरु भएलगत्तै विपद् प्रतिकार्य गर्न पूर्वतयारी बैठक बसिन्छ । विगत ३० वर्षको बाढी पहिरोको विश्लेषण गर्दा मोदी खोलामा त्यस्तो ठूलो विपत्ति आएको प्रशासनसँग रेकर्ड छैन । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ को तथ्याङ्कअनुसार पालिकास्तरमा विपद्को अवस्थाको विश्ेलषण गर्दा कास्कीका पाँचै पालिकालाई ३ भागमा राखियो । अति उच्च जोखिम, उच्च जोखिम र मध्यम जोखिम । जसअनुसार यसपटक अन्नपूर्ण गाउँपालिकाका ११ वटामध्ये वडा नम्बर ४, ५, ८ र ९ अति उच्च जोखिमयुक्त वडामा प¥यो । त्योबाहेक वडा नम्बर १, २, ३, ५, ६, ७, १०, ११ उच्च जोखिममा राखियो । यो तथ्याङ्क बाढी र पहिरोको हो । सोहीअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले योजना बनायो ।
अति उच्च जोखिमको चौथो नम्बरमा रहेको अन्नपूर्णमा बाढीले मानवीय क्षति नभए पनि सबैभन्दा धेरै त्रास फैलायो । मनसुन सुरु भएपछि अन्नपूर्णको मोदी खोलामा मात्रै यो असारदेखि साउन २९ गतेसम्म ६ पटकभन्दा बढी बाढी आयो । यसले विपद् व्यवस्थापन समितिको योजनामै बाढी ल्याइदिएको छ ।
मोदी खोलाको बाढीले सबैभन्दा बढी पर्यटकीय क्षेत्र विरेठाँटीमा क्षति पु¥यायो । घान्दु्रक जाने मुख्य मार्ग रहेको विरेठाँटीकै अस्तित्व मेट्ने हो कि भन्ने जोखिमसमेत देखिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदी खोलाले बगाएको हो । सो ठाउँको दुईवटा पुल पनि बगाएको नयाँ पुल प्रहरी चौकीका कमान्ड प्रहरी सहायक निरीक्षक रमेश अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधवार रातीको पानीका कारण आएको बाढीले भौतिक क्षति पु¥याए पनि मानवीय क्षति भने हुन सकेन । उहाँका अनुसार पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने बेलिब्रिज खोलाले बगाएको हो । पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
खोलाको बीचमा रहेको ढिस्कोमा मन्दिर रहेको थियो । उक्त मन्दिरमा बस्ने पुजारीसहित अन्य २ जना बाढीका कारण अलपत्र परेका थिए । ‘रातभरको पानीले यहाँको मन्दिर बगाएको छ । यहाँ स्थानीयहरू आवतजावत गर्ने पुल पनि बगाएको छ । स्थानीयका लागि यो छोटो बाटो थियो’, अधिकारीले भन्नुभयो– ‘अहिले करिब पाँच सय मिटरमुनि रहेको अर्को झोलुंगे पुलको प्रयोग गरेर आवतजावत गरिरहेका छन् ।’ कास्की र पर्वत जोड्ने मुख्य सवारी पुल भने केही नभएको उहाँको भनाइ छ ।
उक्त स्थानमा ८ वर्षदेखि पूजा गर्दै आइरहेका भारत हिमाचल प्रदेशका ४८ वर्षीय निरमाया गिरी, पोखरा–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको विरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंहलाई सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार गरेको हो । यसअघि २१ गते मोदी खोलामा बाढी आएको थियो । अन्नपूर्ण गाउँपालिका–१० सिमैखोलास्थित नयाँपुल घान्द्रुक सडकखण्डमा क्षति पु¥याएको थियो भने ११ गते अन्नपूर्ण–१० छैसरीमा बाढीका कारण सडक अवरुद्ध भएको थियो । असारमा समेत उक्त खोलामा बाढी आएको थियो ।
पटकपटक आएको बाढीका कारण मोदी खोला र सेती नदीको अध्ययन गर्नुपर्ने निष्कर्षमा जिल्ला विपद् व्यवस्थापन समिति पुगेको छ । शुक्रवार बसेको समितिको बैठकले यी दुई नदीको अध्ययन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ‘हामी यो विषयमा गम्भीर भएका छौँ । कल्पना गरेको भन्दा फरक तरिकाले मोदी खोलामा यसपटक बाढी आयो । हामीले उच्च जोखिममा राख्यौँ तर, यस्तो होला भन्ने लागेन । आज विपद्को बैठकसमेत बस्यौँ मोदी खोला र सेती नदीको अध्ययन हुनुपर्छ भनेका छौँ’, उहाँले भन्नुभयो– ‘खोलाको माथितिर के भएको हो अध्ययन हुनुप¥यो । हामीले यस बारेमा संघ र प्रदेश सरकारलाई अनुरोध पनि गरेका छौँ ।’
बैठकले जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डिओसी) र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एलओसी) बीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै अझ सशक्त बनाउने निर्णय भएको छ । ‘नदी किनारमा भएकाले विरेठाँटी जोखिममा छ भन्ने थियो तर, यस्तो जोखिम हुन्छ भन्ने लागेको थिएन । अहिले कता विरेठाँटीकै अस्तित्व मेटिने हो कि भन्ने चिन्ता देखिएको छ । अति ठूलो क्षति होला भनेर हामीले पनि अनुमान गर्न सकेका थिएनौँ’ –उहाँले थप्नुभयो । यस्तै कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान केन्द्रनजिक राजमार्ग छेउका रुखहरू काट्नका लागि समेत वन कार्यालय र डिभिजन सडकलाई हटाउन लगाइएको छ ।











प्रतिक्रिया