भारतीय सैन्य सेवामा रहेका दिवंगत नेपालीका परिवारलाई ८ करोड २० लाखको बीमा रकम हस्तान्तरण

भारतीय दूताबासले मनायो ८०औँ स्वतन्त्रता दिवस


नेपाल समाचारपत्र, काठमाडौं

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई कुल ८ करोड २० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गर्नुभएको छ। काठमाडौंस्थित भारतीय दूतावासमा शनिबार आयोजित भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहका अवसरमा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत दिवंगत नेपाली सैनिकका परिवारलाई उक्त रकमबराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्ड चेक हस्तान्तरण गर्नुभएको हो।


 ‘वन्दे मातरम’ गायनबाट भएको समारोहमा राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो भने भारतका राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरिएको थियो ।

त्यसैगरी, स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता,‘विकसित भारत दौड’ तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पनि समारोहमा सम्मान गरिएको थियो।

समारोहमा भारतको इतिहास, संस्कृति, विकास र विविधताबारे युवापुस्तामा जानकारी विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेतालाई पनि सम्मान गरिएको थियो।

समारोहमा दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने तथा विद्यार्थी र पाठकलाई थप अध्ययन सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त पहल गरिएको दूतावासले जनाएको छ।

समारोहमा नेपालमा रहेका भारतीय समुदायका सदस्य, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरुका परिवारको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरुले देशभक्तिपूर्ण गीतसमेत प्रस्तुत गरेका थिए। भारतले हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ।