काठमाडौं ।
नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। घटनामा ४३ जना घाइते भएका छन् भने १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। विपद् प्रतिकार्य तथा उद्धारका लागि २६१ जना प्रहरी परिचालन गरिएको छ।
पहिरोका कारण मात्रै १० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको पञ्चमुलमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी १५२.९ मिलिमिटर वर्षा भएको छ।
चालु आर्थिक वर्षको वैशाख १ देखि साउन २९ गतेसम्म देशभर ४ हजार ६५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा २२९ जनाको मृत्यु, ९ जना बेपत्ता र १ हजार ४६३ जना घाइते भएका छन् भने ५ हजार ७०९ परिवार प्रभावित भएका छन्। समीक्षा अवधिमा सर्पदंश र पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।











प्रतिक्रिया