विशेष महाधिवेशनको नेतृत्वप्रति खड्काको असन्तुष्टि, भने– ‘सत्ता लुटेर लैजान पाइँदैन’


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्काले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई ‘चोइटिएर गएको कांग्रेस’को संज्ञा दिएका छन्।

काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनबाट बनेको कांग्रेस सच्चा कांग्रेस भएको भए निर्वाचित नेताहरूलाई टिकटबाट वञ्चित गर्ने अवस्था नआउने दाबी गरे।

उनले भने, ‘चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन। सच्चा र सत्य कांग्रेस भएको भए सधैं निर्वाचित नेताहरूलाई टिकट नदिने भन्ने हुँदैनथ्यो। घरमा आगो लगाएर, कुटेर नेतृत्वबाट सत्ता लुटेर लैजान पाइँदैन। यो अपराध क्षम्य हुन्छ?’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किँदा विमानस्थलमा देखिएको उपस्थिति तथा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताको सहभागिताले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई ‘झापड’ दिएको खड्काको टिप्पणी थियो।

‘यो भेलाले झापडको रूपमा दण्डित गरिसकेको छ। सानेपा खाली गरेर पार्टी कार्यालय किस्तीमा राखेर यी नेतागणलाई बुझाए मिल्ने कडीका रूपमा लिन सकिन्छ,’ उनले भने।