काठमाडौँ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम र रेबिजविरुद्धको उपचारमा प्रयोग हुने रेबिज इम्युनोग्लोबुलिन नेपाल आइपुगेको जनाएको छ ।
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश उपचारका लागि ८ हजार २ सय भायल एन्टी स्नेक भेनम तथा रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन नेपाल ल्याइएको हो। यी खोप तथा औषधी टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त सामग्री सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । उहाँले सर्पदंश तथा रेबिजको जोखिममा परेका बिरामीको उपचारका लागि अत्यावश्यक यी सामग्री उपलब्ध भएसँगै देशभर उपचार सेवा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो।
यसअघि देशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा एन्टी स्नेक भेनम र रेबिजसम्बन्धी उपचार सामग्रीको अभाव हुँदा बिरामीले समयमा उपचार नपाउने अवस्था सिर्जना भएको थियो। विशेषगरी मनसुनका बेला सर्पदंशका घटना बढ्ने र वर्षभरि नै कुकुर तथा अन्य जनावरको टोकाइका कारण रेबिजविरुद्धको उपचार आवश्यक पर्ने भएकाले स्वास्थ्य संस्थामा यी सामग्रीको उपलब्धता अत्यन्त महत्वपूर्ण मानिन्छ ।











प्रतिक्रिया