बालेन लक्षित देउवाको टिप्पणी : ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् र?’


काठमाडौँ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका राजनीतिक तथा कानुनी गतिविधिबाट आफू कुनै पनि हालतमा विचलित नहुने बताएका छन्।

पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले काठमाडौंस्थित आफ्नो निवास चुनदेवीमा पुगेपछि कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पाँच दशक लामो राजनीतिक यात्रामा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे।

आफूविरुद्ध परेका विभिन्न उजुरी तथा कानुनी विषयमा अदालत जान आफू नडराउने उल्लेख गर्दै देउवाले कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए।

सम्बोधनका क्रममा देउवाले नेपालको गणतन्त्र आफू वा कुनै एक राजनीतिक दलको चाहनाबाट स्थापित नभएको स्पष्ट पारे। जनताले निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र संस्थागत भएको उनको भनाइ थियो।

गणतन्त्र र लोकतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गर्दै देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् र?’

गणतन्त्रको संरक्षणका लागि नेपाली जनता नै सचेत र निर्णायक शक्ति रहेको देउवाले बताए। देशको शासन व्यवस्था कुनै व्यक्तिको इच्छाअनुसार आउने वा जाने विषय नभएको उनको भनाइ थियो।

‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ,’ देउवाले भने।

देउवाको उक्त अभिव्यक्तिलाई पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लगायतबाट व्यक्त हुँदै आएका राजनीतिक धारप्रति लक्षित टिप्पणीका रूपमा हेरिएको छ।