काठमाडौं ।
भारतको कोलकाताबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा अवतरणको केही समयअघि बायाँ इन्जिनमा खराबी आएपछि चेन्नई विमानस्थलमा मंगलबार राति ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो छ। इन्डिगोको उडान नम्बर ६ई–७२३ मा २२४ जना यात्रु तथा चालक दलका सदस्य सवार थिए। विमानले कोलकाताबाट मंगलबार राति ९ः३९ बजे उडान भरेको थियो। निर्धारित समयभन्दा करिब २५ मिनेट ढिला उडेको विमान चेन्नईमा राति ११ः३० बजे अवतरण गर्ने तालिका थियो।
अवतरणको तयारी गरिरहेका बेला पाइलटले विमानको बायाँ इन्जिनले काम गर्न छाडेको जानकारी पाएपछि तत्काल एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई खबर गरेका थिए। त्यसपछि चेन्नई विमानस्थलका अधिकारीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आपतकालीन उद्धार, अग्निनियन्त्रण तथा सुरक्षा संयन्त्र सक्रिय पारेका थिए। २२४ यात्रु बोकेको विमान सुरक्षित अवतरण विमानले राति ११ः२९ बजे आपतकाल घोषणा गरेको थियो। त्यसको करिब आठ मिनेटपछि राति ११ः३७ बजे रनवे–२५ मा विमान सुरक्षित अवतरण भयो। विमानमा रहेका सबै २२४ जना सुरक्षित रहेको र घटनामा कुनै मानवीय क्षति नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमान सुरक्षित रूपमा धावनमार्गमा आएपछि राति ११ः४७ बजे ‘फुल इमर्जेन्सी’ फिर्ता लिइएको थियो। त्यसपछि चेन्नई विमानस्थलको नियमित उडान तथा अन्य सेवा सामान्य रूपमा सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। प्राविधिक जाँच सुरु हुने घटनापछि विमानलाई प्राविधिक निरीक्षणका लागि राखिएको छ। बायाँ इन्जिनमा खराबी आउनुको वास्तविक कारणबारे थप प्राविधिक जाँच भइरहेको जनाइएको छ। प्रारम्भिक विवरणमा इन्जिन फेल भएको उल्लेख भए पनि खराबीको प्रकृति र कारणबारे विस्तृत आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
घटनाका कारण चेन्नई विमानस्थलमा केही समयका लागि उच्च सतर्कता अपनाइए पनि अन्य उडानहरूमा ठूलो अवरोध परेको छैन। विमान सुरक्षित अवतरण भएपछि विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको अधिकारीहरूले बताएका छन्। यो घटना पछिल्लो समय भारतीय विमान सेवामा देखिएका प्राविधिक समस्याका घटनाक्रमबीच भएको हो। यद्यपि, यस घटनामा चालक दलले समयमै इन्जिनको समस्या पहिचान गरी एटीसीलाई जानकारी गराउनु र विमानस्थलले तत्काल आपतकालीन संयन्त्र सक्रिय गर्नुका कारण ठूलो दुर्घटना टरेको देखिन्छ।











प्रतिक्रिया