म्याद गुज्रिएको विस्फोटक डिस्पोज गर्ने क्रममा रसुवामा विस्फोट, ५ जना घाइते


काठमाडौं ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङमा म्याद गुज्रिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्।

नेपाली सेनाको श्रीनाथ गणमा रहेको म्याद गुज्रिएको विस्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा सोमबार विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिए। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको उनले बताए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

नेपाली सेनाका गणपति घटनाबारे थप विवरण संकलन भइरहेको र आफू व्यस्त रहेकाले तत्काल विस्तृत जानकारी दिन नसक्ने बताएका छन्।

पछिल्लो अपडेटअनुसार घाइते पाँचै जनाको उद्धार तथा उपचारको तयारी भइरहेको छ। उनीहरूको अवस्था, विस्फोटमा संलग्न विस्फोटक पदार्थको प्रकृति र घटनाको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ।