त्रिदेशीय सहकार्य र सम्पर्क विस्तारमा जोड

चीन–भारत–नेपाल सहकार्यबाट क्षेत्रीय समृद्धि सम्भव : मन्त्री खनाल


ललितपुर

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई चीन र भारतबीचको ‘गतिशील आर्थिक पुल’का रूपमा विकास गर्दै त्रिदेशीय सहकार्य, क्षेत्रीय सम्पर्क र आर्थिक कूटनीतिलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (निस) र चीनको फुदान विश्वविद्यालयअन्तर्गत सेन्टर फर साउथ एशियन स्टडिजद्वारा शुक्रबार ललितपुरमा आयोजित बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया : बदलिँदो क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी प्रवर्द्धन र रोजगारी सिर्जना रहेको बताए।

विश्व आर्थिक वृद्धिमा एशियाको योगदान ६० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै उनले चीन र भारतको तीव्र आर्थिक उन्नतिले नेपालका लागि व्यापार, पर्यटन, पूर्वाधार तथा क्षेत्रीय सम्पर्क विस्तारका महत्वपूर्ण अवसर सिर्जना गरेको बताए। दक्षिण एशियामा अन्तर–क्षेत्रीय व्यापार अझै न्यून रहेको उल्लेख गर्दै उनले सम्पर्क सञ्जाल विस्तार, व्यापार सहजीकरण, लगानी अभिवृद्धि र आपूर्ति प्रणाली सुदृढीकरणमार्फत साझा समृद्धि हासिल गर्न सकिने धारणा राखे।

मन्त्री खनालले नेपालसँग आर्थिक रूपमा सम्भाव्य ४२ हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमता रहेको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन तथा डिजिटल अर्थतन्त्रलाई आगामी विकासको प्रमुख आधारका रूपमा अघि बढाइने बताए। उनले सीमा–पार यातायात, डिजिटल कनेक्टिभिटी, ऊर्जा आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारलाई त्रिपक्षीय सहकार्यको आधार बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङले बहुध्रुवीय विश्व व्यवस्थाको उदयसँगै चीन र दक्षिण एशियाबीचको सहकार्य थप महत्वपूर्ण बन्दै गएको बताए। उनले एकपक्षीयता, संरक्षणवाद तथा प्रभुत्ववादी प्रवृत्तिले विश्व शान्ति र विकासलाई चुनौती दिएको उल्लेख गर्दै दक्षिण एशियालाई विश्व आर्थिक वृद्धिको उदीयमान केन्द्रका रूपमा चित्रण गरे।

राजदूत माओमिङले चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै बेल्ट एन्ड रोड सहकार्य, पूर्वाधार विकास, सम्पर्क विस्तार, गरिबी न्यूनीकरण, स्वास्थ्य तथा जनस्तरको आदानप्रदानमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनमा चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केले बहुध्रुवीय विश्व व्यवस्थाको उदयसँगै एशियामा शक्ति सन्तुलन, रणनीतिक प्रतिस्पर्धा र सहकार्य एकैसाथ अघि बढिरहेको बताए। उनले चीनले विश्वव्यापी बहुध्रुवीयताको अवधारणा अघि सारेको तथा भारतले ‘बहुध्रुवीय विश्वका लागि बहुध्रुवीय एशिया’को अवधारणा प्रस्तुत गरिरहेको उल्लेख गर्दै दुवै मुलुकबीच प्रतिस्पर्धाका साथै सहकार्यका प्रशस्त आधार रहेको धारणा राखे।

नेपालले कुनै शक्ति केन्द्रतर्फ नढल्की रणनीतिक स्वायत्तता, सन्तुलित संलग्नता र आर्थिक कूटनीतिमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। नेपालले चीन र भारतमध्ये कुनै एक रोज्ने नभई दुवैसँग सहकार्य गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए। उनले नेपाललाई “बफर स्टेट” नभई स्वतन्त्र निर्णय क्षमता भएको सार्वभौम राष्ट्रका रूपमा प्रस्तुत गर्दै शान्ति कूटनीति, क्षेत्रीय संवाद र त्रिदेशीय सम्पर्क विस्तारमा नेपालको विशेष भूमिका हुन सक्ने बताए।

सम्मेलनमा सहभागी कूटनीतिज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूले बदलिँदो भू–राजनीतिक परिवेशमा चीन–भारत–नेपाल त्रिपक्षीय सहकार्यलाई क्षेत्रीय स्थायित्व, आर्थिक एकीकरण तथा साझा समृद्धिको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए।