‘नियतमा प्रश्न छैन, कार्यशैलीमा सुधार चाहिन्छ’: मनिष झा


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियत र इमानदारीप्रति प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार जनताको भावना र व्यवहारिक यथार्थसँग अझ नजिक हुनुपर्ने धारणा राखे। ‘हामीले कालो स्टिकर हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ। आगो मात्रै निभेको हो, दाउरा अझै निभेको छैन,’ भन्दै उनले सरकारलाई वास्तविक अवस्था बुझेर काम गर्न आग्रह गरे।

झाले मधेशको उदाहरण दिँदै राज्यले गरिब र सम्पन्न नागरिकप्रति फरक व्यवहार गरेको आरोप लगाए। उनका अनुसार सामान्य नागरिकले ल्याएको २५ रुपैयाँ मूल्यको चिप्ससमेत जफत गरिने, तर विमानस्थलबाट महँगा मदिरा सहजै भित्रिन पाउने अवस्थाले राज्यको दोहोरो मापदण्ड देखाएको छ।

उनले जननिर्वाचित प्रतिनिधिहरू सधैँ नागरिकसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक शासनको आधार राज्यप्रतिको जनविश्वास र नागरिकको आत्मविश्वास भएको बताए। ती दुई पक्षलाई केन्द्रमा राखेर शासन सञ्चालन गरिए मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो।

सरकारको उद्देश्यप्रति आफूले प्रश्न नउठाएको स्पष्ट पार्दै झाले कार्यसम्पादनको शैलीमा भने सुधार आवश्यक रहेको बताए। उनले सरकार सञ्चालन गर्नेहरूमा सिक्ने संस्कार हुनुपर्ने उल्लेख गर्दै आफूलाई सबै कुरा थाहा छ भन्ने सोच त्याग्न आग्रह गरे।

यस क्रममा उनले गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै, ‘जुन दिन तपाईंलाई आफूलाई सबै थाहा छ भन्ने लाग्छ, त्यो दिन तपाईंको जीवन मृत्युसमान हुन्छ,’ भन्दै निरन्तर सिकाइ र सुधारको आवश्यकता औँल्याए।

झाले शिक्षा, राजनीति, लोकतन्त्र र सामाजिक न्याय एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै शिक्षित समाजबाट मात्रै बलियो राजनीति, सुदृढ लोकतन्त्र र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे।