निर्मला प्रकरणमा दिएको अभिव्यक्तिपछि गृहमन्त्रीले मागे माफी


काठमाडौं।

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति अपेक्षाकृत ठाडो भएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा प्रयोग भएको आफ्नो शैलीप्रति आत्मालोचना गरेका हुन्। उनले सांसदहरूबाट अझ धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै आफ्नो भनाइले असहज अवस्था सिर्जना गरेको भए त्यसका लागि क्षमा चाहेका छन्।

“हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो शैलीमा कुरा हुन पुगेजस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु, माफी पनि माग्न चाहन्छु,” उनले भने।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय जोडिएकाले आफूले त्यसप्रति असन्तुष्टि व्यक्त गरेको स्पष्ट पारे। उनका अनुसार छलफल मूल विषयमै केन्द्रित हुनुपर्ने थियो।

उनले मनसुनजन्य विपद् व्यवस्थापन र निर्मला पन्त हत्या प्रकरणबीच प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गर्दै संसद्मा छलफल गर्दा विषयवस्तुमै केन्द्रित हुनुपर्ने धारणा राखे।