इन्टर्न चिकित्सकलाई ३२ हजार भत्ता दिन नसकिने निजी मेडिकल कलेजहरूको स्पष्टोक्ति


काठमाडौं ।

एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई मासिक ३२ हजार रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलन चर्किरहेका बेला निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल (APMDCN) ले हालको अवस्थामा उक्त माग पूरा गर्न नसकिने स्पष्ट पारेको छ।

एसोसिएसनले बुधबार बेलुका सचिवालयका तर्फबाट चार पृष्ठ लामो सार्वजनिक सूचना जारी गर्दै इन्टर्नशिप एमबीबीएस तथा बीडीएस अध्ययनको अनिवार्य र अभिन्न शैक्षिक प्रक्रिया भएकाले त्यसलाई श्रम सम्बन्ध वा पारिश्रमिकसँग जोड्न नमिल्ने जनाएको हो।
संस्थाका अनुसार विगतमा इन्टर्नशिपका लागि विद्यार्थीबाट छुट्टै शुल्क लिने व्यवस्था रहेकाले त्यही शुल्कबाट केही रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइन्थ्यो। तर चिकित्सा शिक्षा आयोग गठनपछि इन्टर्नशिप शुल्क लिने व्यवस्था हटाइएकाले अहिले छुट्टै स्रोतबाट भत्ता उपलब्ध गराउन कठिन भएको जनाएको छ।

सूचनामा विगतमा क्रमशः एक हजार पाँच सय, तीन हजार, छ हजार हुँदै हाल १३ हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता उपलब्ध गराइँदै आएको उल्लेख गर्दै कुनै कानुन, विश्वविद्यालयको पाठ्यक्रम वा नियामक व्यवस्थाले निश्चित रकम अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको दाबी गरिएको छ।

एसोसिएसनले अहिले ३२ हजार रुपैयाँ भत्ताको माग गरिएको भए भविष्यमा ५० हजार वा एक लाख रुपैयाँसम्मको माग आउन सक्ने भन्दै स्रोत सुनिश्चित नभएसम्म यस्ता माग पूरा गर्न सम्भव नरहेको जनाएको छ। साथै, सन् २०२६ सम्म भर्ना भएका विद्यार्थीका हकमा हालको व्यवस्था परिवर्तन गर्न नसकिने तर आगामी शैक्षिक सत्रदेखि भर्ना हुने नयाँ ब्याचका लागि आवश्यक परे नियामक निकायसँग छलफल गर्न तयार रहेको उल्लेख गरिएको छ।

संस्थाले राज्य वा सम्बन्धित नियामक निकायले आवश्यक आर्थिक स्रोत सुनिश्चित गरे त्यसअनुसारको व्यवस्था कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।

इन्टर्न चिकित्सकलाई कर्मचारी वा श्रमिकका रूपमा व्याख्या गर्न नमिल्ने दाबी गर्दै सूचनामा उनीहरू अझै विश्वविद्यालयको अध्ययनक्रम पूरा गरिरहेका विद्यार्थी भएकाले स्नातकोत्तर (पीजी) रेजिडेन्ट चिकित्सकसँग तुलना गर्न नमिल्ने उल्लेख गरिएको छ।

यस्तै, यदि इन्टर्न चिकित्सकले आफूलाई श्रमिकका रूपमा परिभाषित गर्ने हो भने श्रम खरिद–बिक्रीको सम्बन्ध पनि स्वीकार गर्नुपर्ने तर्क गर्दै अस्पतालले श्रम खरिद गर्ने वा नगर्ने निर्णय गर्न पाउने भएकाले श्रम शोषणको प्रश्न नउठ्ने दाबी गरिएको छ।

एसोसिएसनले विश्वविद्यालयको नियम, पाठ्यक्रम र निर्देशनअनुसार नै इन्टर्नशिप सञ्चालन भइरहेको दोहोर्याउँदै आन्दोलन र टकरावले विद्यार्थीको भविष्य उज्ज्वल नबन्ने उल्लेख गरेको छ। साथै सकेसम्म छिटो इन्टर्नशिप सम्पन्न गरी चिकित्सकीय करियरमा अघि बढ्न विद्यार्थीलाई आग्रह गरेको छ।

उल्लेखनीय छ, एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई मासिक ३२ हजार रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्ने मागसहित डा. डिल्ली हरिजन माइतीघर मण्डलामा आमरण अनसनमा बसेका छन्। अनसनको चौथो दिन स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ।