व्यवस्थापनमा अव्यवस्थाले रास्वपा महाधिवेशन प्रभावित, राति अबेरसम्म मतदान सुरु भएन

1.22k
Shares

चितवन।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापनको अव्यवस्थाका कारण प्रभावित बनेको छ। बुधबार राति साढे १० बजेसम्म पनि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुन नसकेको महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिएका छन्।

उम्मेदवारहरूको अन्तिम नामावली तयार हुन नसक्दा मतदान प्रक्रिया प्रभावित भएको जनाइएको छ। विभिन्न समूह तथा क्षेत्रमा उम्मेदवारी परेकाले उम्मेदवारहरूलाई वर्गीकरण र अन्तिम सूची तयार गर्ने काम जारी रहेको निर्वाचन समितिले जनाएको छ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिए पनि मतदान कहिलेदेखि सुरु हुने भन्ने विषय अझै अन्योलमै रहेको छ।केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भएपछि मात्रै सभापतिसहित अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ।