मधेशका अर्थमन्त्रीको सरकारी गाडीमा तोडफोड, मधेश भवनको सुरक्षामाथि गम्भीर प्रश्न


जनकपुरधाम।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको घटनाले प्रदेशको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरी राखिएको मन्त्री भट्टराईको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्। गाडीमा राखिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार बिहान करिब ११ बजेतिर एक व्यक्ति स्कारपिओ गाडी चढेर मधेश भवन परिसरमा प्रवेश गरेका थिए। उपलब्ध सीसीटीभी फुटेजमा ती व्यक्तिले केही समय मन्त्रालय परिसरमा घुमफिर गर्दै मन्त्रीको गाडी वरिपरि निगरानी गरेको र त्यसपछि राष्ट्रिय झण्डा भाँचेर फालिदिएको देखिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति कानमा मोबाइल फोन लगाएर परिसरभित्र घुमिरहेको दृश्य पनि क्यामेरामा कैद भएको छ। घटनाको प्रकृति हेर्दा यो सुनियोजित गतिविधि हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले मधेश भवन परिसरमा पुगेर अनुसन्धान थालेको थियो। तर, परिसरमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले घटनामा प्रयोग गरिएको स्कारपिओ गाडीको नम्बर तथा संलग्न व्यक्तिको स्पष्ट पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको तथा शंकास्पद व्यक्ति र गाडीको खोजी भइरहेको जनाएको छ। प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रभित्रै मन्त्रीको सरकारी गाडी असुरक्षित हुनु र निगरानी प्रणाली प्रभावकारी नहुनुले सुरक्षा संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।

घटनाबारे प्रदेश सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। सुरक्षा कमजोरी, सीसीटीभी प्रणालीको दुरवस्था तथा संवेदनशील सरकारी परिसरभित्र भएको तोडफोडको घटनाले प्रदेशको सुरक्षा व्यवस्थाप्रति थप चिन्ता बढाएको छ।