विपद् प्रतिकार्य सुदृढ गर्न ‘अभ्यास हातेमालो–८’ शुभारम्भ


काठमाडौँ ।

विपद् व्यवस्थापनको क्षेत्रमा समन्वय, सहकार्य र प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित ‘अभ्यास हातेमालो–८’ आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। वैशाख २१ गते आयोजित कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी अनुप जङ्ग थापाले अभ्यासको शुभारम्भ गर्नुभएको हो।

विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, विभिन्न सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागितामा सञ्चालन गरिएको उक्त अभ्यासले बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यस अभ्यासमार्फत विपद्का बेला सरोकारवाला निकायहरूबीच समन्वय सुधार गर्ने, तयारी अवस्था मूल्यांकन गर्ने तथा प्रतिकार्य प्रणालीलाई व्यवहारिक रूपमा परीक्षण गर्ने अपेक्षा गरिएको छ।

नेपाली सेनाको समन्वय तथा गृह मन्त्रालयको सहयोगमा सुरु गरिएको ‘अभ्यास हातेमालो’ कार्यक्रम पहिलोपटक आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश स्तरमा सञ्चालन गरिएको थियो। त्यसयता जङ्गी अड्डामा वार्षिक रूपमा आयोजना हुँदै आएको यो अभ्यास यस वर्ष पनि निरन्तरता दिइएको हो।

यसपटकको अभ्यास मनसुनको समयमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने अभ्यासमा आपतकालीन उद्धार, राहत वितरण, सूचना व्यवस्थापन र अन्तरनिकाय समन्वयका पक्षहरूलाई प्राथमिकतामा राखिएको छ। साथै, आगामी दिनमा यसलाई क्रमशः प्रदेश र जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।

शुभारम्भ कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू तथा नेपाली सेनाका अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यस अभ्यासले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा नेपालले अवलम्बन गर्दै आएको बहु-निकायीय दृष्टिकोणलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।