नेपाल चिकित्सक संघको निर्वाचन १८ र १९ वैशाखमा, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

अदालतको आदेशले रोकिएको चुनाव पुनः सुरु—अध्यक्षमा रिजाल, रावल र भुषाल मुख्य दाबेदार


काठमाडौं।

नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकामा वैशाख १८ र १९ गते मतदान हुँदैछ । देशभरका चिकित्सकहरूको पेशागत नेतृत्व चयनसँग जोडिएको यो निर्वाचन यसपटक विशेष चासो र प्रतिस्पर्धाका बीच सम्पन्न हुन लागेको हो ।

निर्वाचन समितिका अनुसार उपत्यका बाहिरको मतदान यसअघि नै सम्पन्न भइसकेको छ भने काठमाडौं उपत्यकाभित्र शुक्रबार र शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । मौन अवधि बिहीबार बिहानदेखि लागू भइसकेको छ, जसअन्तर्गत उम्मेदवारहरूले कुनै पनि प्रचार–प्रसार गर्न नपाउने व्यवस्था गरिएको छ ।

यसपटकको निर्वाचनमा अध्यक्ष पदका लागि तीन प्रमुख दाबेदार मैदानमा छन्—डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल । तीनै जना आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संघको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन समूहका कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अदालतको आदेशले रोकिएको निर्वाचन पुनः सुरु

यसअघि तय गरिएको निर्वाचन कार्यक्रम पाटन उच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको थियो । अदालतले दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै तत्काल प्रतिनिधि सभाको निर्वाचन भएकाले निर्वाचन आचार निर्वाचन नगर्न आदेश दिएपछि सम्पूर्ण प्रक्रिया रोकिएको थियो । निर्वाचन समिति र सरोकारवालाबीचको छलफलपछि पुनः संशोधित तालिकाअनुसार अहिले निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

डा. बद्री रिजाल समूहले अनुभव र संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाएको छ भने डा. मंगल रावल समूहले चिकित्सकको पेशागत अधिकार र सेवा सुविधा सुधारलाई प्राथमिकता दिएको जनाएको छ । त्यस्तै, ‘टिम रिफर्म’ नाम दिइएको डा. नारायण भुषाल समूहले संरचनात्मक सुधार, पारदर्शिता र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने नारा अघि सारेको छ ।

तीनै प्यानलले वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा समेत बलिया उम्मेदवार अघि सारेका छन् । प्रदेश संयोजक र सदस्य पदमा पनि प्रतिस्पर्धा कडा देखिएको छ । नेपाल चिकित्सक संघ देशकै पुरानो पेशागत संस्था हो, जसले चिकित्सकहरूको अधिकार संरक्षण, स्वास्थ्य नीति निर्माणमा सुझाव तथा पेशागत सुधारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसकारण संघको नेतृत्व चयनलाई केवल संगठनात्मक प्रक्रिया मात्र नभई राष्ट्रिय स्वास्थ्य क्षेत्रको दिशानिर्देशनसँग जोडेर हेर्ने गरिन्छ । यसपटकको निर्वाचनमा चिकित्सक समुदायभित्र व्यापक चासो देखिएको छ । विगतमा आन्तरिक विवाद, कानुनी जटिलता र निर्वाचन स्थगनजस्ता घटनाले संघको छवि प्रभावित भएको सन्दर्भमा नयाँ नेतृत्वप्रति अपेक्षा पनि उच्च रहेको छ ।

विशेषगरी स्वास्थ्य नीतिमा प्रभावकारी हस्तक्षेप, चिकित्सकको सुरक्षा, सेवा सुविधा सुधार र पेशागत एकता कायम गर्ने विषय नयाँ नेतृत्वका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन् । निर्वाचन परिणामले आगामी कार्यकालका लागि संघको नीति, प्राथमिकता र दिशा निर्धारण गर्ने भएकाले चिकित्सक समुदाय मात्र नभई समग्र स्वास्थ्य क्षेत्रको ध्यान यसतर्फ केन्द्रित भएको छ।

अनुभवको नेतृत्व कि सुधारको एजेन्डा?

पुरानै संरचना कि नयाँ परिवर्तन?

यी प्रश्नहरूको उत्तर वैशाख १८ र १९ को मतदानले तय गर्नेछ ।