रोल्पा दुर्घटनाप्रति संयोजक दाहालद्वारा दुःख व्यक्त, राहत र उपचारको माग


काठमाडौँ।

नेकपाका संयोजक पुष्पकमल दाहालले रोल्पाको थबाङमा बिहीबार भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा ज्यान गुमाएका २० जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको संयोजक दाहालले उल्लेख गरेका छन्।

मृतकहरूमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका बासिन्दा रहेको जानकारी दिँदै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

दाहालले घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई उचित राहत र सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।